नेभिगेशन
समसामयीक
चितवन

सफा र शुद्ध पानी पिउनुपर्नेमा जोड

चितवन ।

पिउने पानीका कारण मानिसलाई विभिन्न प्रकारका रोगहरु लाग्ने भएकाले सफा र शुद्ध पानी पिउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ मा आयोजना गरिएको गुणस्तरीय तथा स्वच्छ पिउने पानी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पानीका कारण रोगको महामारी समेत हुने भएकाले गुणस्तरीय पानी पिउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य रामलाल महतोले भरतपुर खानेपानी व्यवस्थापन बोर्डले सबै ठाउँमा ओभरहेड नराखी पानी वितरण गर्दा उपभोक्ताहरुले दुषित पानी पिउनुपरेको बताए ।

पानीको प्रेसरका कारण ठाउँठाउँमा पाइपहरु फुट्नाले उपभोक्ताले दुषित पानी पिउनुपर्ने अवस्था आएकाले यसको समाधानका लागि ओभरहेड राख्नुपर्ने महतोले बताए ।

ओभरहेड निर्माण गरेर पानी वितरण गर्दा पानी खेरजाने समस्या हट्ने भएकाले प्रदेश सरकारले समेत यसतर्फ ध्यान दिएको महतोले बताए ।

कार्यक्रममा भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भरतपुरका २६ हजार पाँच सय घरधुरीमा १८ वटा स्टेशनको ३० वटा बोरिङ मार्फत खानेपानी पु¥याइएको बताए ।

नगरबासीलाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले महानगरका १ देखि १६ नम्बर वडा तथा वडा नम्बर २२ सम्ममा सात सय किलोमिटर पाइप बिच्छ्याइएको जानकारी दिए ।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता पटिहानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष पीताम्बर शर्माले गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समसामयीक

यसपालिको दसैं, दशा बन्यो !