नेभिगेशन
कला/साहित्य

कविता : सेतो आईमाई !

सेतो आईमाई !

रातो खोसिएर सेतोसँग जोडिएकी उ 
कालो भन्दा बढी कलङ्कित भई
ईश्वरको जीवनसँगको भेद भन्दा बढि 
उसलाई यी रङ्गहरुको भेदसँग खेद छ !

उसकाे निधारमा रातो टीका टल्किन्थ्यो 
र पो उ जुनझै उज्यालो देखिन्थी
अहिले त उ, औंशी रात भन्दा निश्पट कालो देखिन्छे
उसकाे सिँउदोमा रातो सजिन्थ्यो 
र पो उ गुलाबझै सुन्दर देखिन्थी
अहिले त उ , फूलबिनै ठिङ्ग उभिएको काँडेझार झै देखिन्छे
उसकाे गलामा रातो पोते झुन्डिदा  पो उ जिवन्त देखिन्थी
अहिले त उ, सेतो लुगामा लपेटिएकी जिउँदो मुर्दाझै देखिन्छे
उसका नाडीहरुमा राता चुराहरु घन्किन्थे 
र पो उसमा जीवनको संगीत सुन्निन्थ्यो
अहिले त उ, ठूलो विध्वंसपछिको सन्नाटा झै देखिन्छे
उसका ओठहरुमा रातो लालि हुँदा 
उसकाे जीवनको चमक देखिन्थ्यो
अहिले त उस्का ओठहरु मरुभुमीझै फुस्रा देखिन्छन्
रातोमा सजिँदा पो खुलेआम मुस्कुराउथ्यो  उस्को रंगिन अस्तित्व
अहिले त उ कतै गुमनाम  आलाप गरिरहेको आफ्नो अस्तित्वको खोजीमा छे !

उसले चिहानघाटमा एक लास 
अनि आफ्नो रंगिन इतिहासलाई 
दागबत्ती दिएर आई
उसले श्रीमानसँग आफ्नो स्वाभीमानलाई बिदा गरेर आई
उ रंगिनबाट सादा बनेर आई
पुराबाट खाली बनेर आई
बस्, एक सेतो रङ्गमा समेटिएर 
निश्पट काली बनेर आई !

आखिर एक स्त्री भन्नू कसैकी श्रीमती न हो
आखिर उसका लागि रङ्ग भन्नू उस्को पति न हो
उ पिताको थर छोडेर पतिको थरको हुन गएकी थिई
उ पिताको घर छोडेर पतिको घरको हुन गएकी  थिई
लोग्नेले दिएको घर, थर र रहरले त जिउछे एउटी स्वास्नी
लोग्ने नै नरहे अब उ कहाँ की भई ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्