नेभिगेशन
कला/साहित्य

कविता : यो भुलभुलैयाको व्यापार

कविता : यो भुलभुलैयाको व्यापार

यो भुलभुलैयाको कसैले व्यापार चलाएको छ
किनिएका छन् मन, मस्तिष्क अनि चेतना
बेचेर आफैलाई बेवकुफ खुब रमाएको छ
उठ्दा, बस्दा, सुत्दा ... बस् मोबाइल चलाएको छ !

मोबाइलको भित्तालाई सबथोक बनाएको छ
यथार्थ र भर्चुआलिटीको भिन्नता हराएको छ
यो मानवजाति कृत्रिम दासतासँग डराएको छ
सामाजिक सञ्जालबाटै सुरु हुने बिहान
सामाजिक सञ्जालमै अस्ताउँछ
यो सन्जाल हैन जन्जाल हो, पस्यो त फस्यो !

यी मनका गल्लीहरुमा घुमीरहेछु म पनि
प्रत्येक मोडमा भईरहेको छ उसको कुनै व्यापार
जस्ले बनायो यो जालो
आफू पर बसेर रमिता हेर्दैछ
मूर्ख कोहि सुनको पिँजडामा थुनिनु मै खुशी छ
कृतिमताको व्यापार गर्छ कोहि, किनिदिन्छ कसैको दिनचर्या
अनि कोहि बेचेर आफ्नो यथार्थ सोच्छ, उ खुशी छ

यो जालोझै सञ्जाल खुसी हैन, लत हो
कसैलाई आफ्नो समय, भावना बेचिदिनु गलत हो
खुशी त मोबाइलको भित्तामा हैन मनको भित्तामा भेट्टिन्छ
ए मूर्ख पानीको प्यास कहाँ जुसले मेट्टिन्छ ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्