नेभिगेशन
कला/साहित्य

सिर्जना उत्सवमा घन्किए ठाडीभाका

रुकुम पश्चिममा शुक्रबार देखि सुरु भएको सिर्जना उत्सवमा ठाडीभाका प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाली कला साहित्य डटकम प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् रुकुम पश्चिमको सहआयोजनामा भएको सिर्जना उत्सवको पहिलो सत्रमा त्रिवेणी गाउँपालिकाको सहिद स्मृति भवनमा मौलिक ठाडीभाका घन्किएको हो । 

ठाडीभाकामा मुसीकोट नगरपालिका –२ का कमल खड्काको समूह प्रथम भएको छ । राप्ती साहित्य परिषद् रुकुमपश्चिमका अध्यक्ष मनलाल ओलीका अनुसार ठाडीभाकामा त्रिवेणी गाउँपालिका –४ की अस्माली खड्काको समूह द्वितीय र त्रिवेणी गाउँपालिका –१ की तिलसरी विकको समुह तृतीय भएको छ ।

त्यसैगरी मुसीकोट नगरपालिका वडा नम्बर १० का हिरालाल कठायतको र त्रिवेणी गाउँपालिका –४ की प्रतिभा खड्काको समुहले सान्त्वना स्थान प्राप्त गरेको छ । 

ठाडीभाकामा प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वनाले समान पाँच÷पाँच हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । सिर्जना उत्सव कार्यक्रमका संयोजक पूर्ण ओलीका अनुसार ठाडीभाकामा कुल २० टिम दर्ता भएकोमा त्यसबाट मूल्याङकन गरेर पाँच वटामा झारिएको थियो । त्यसबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना निकालिएको हो ।

उत्सवमा आज कविता प्रतियोगिताको श्रङखला चलिरहेको छ । 

सिर्जना उत्सवमा नेपाली कला साहित्य डटकमका अध्यक्ष मोमिला जोशी, वरिष्ठ संस्कृतविद् तथा साहित्यकार तुलसी विवश, नेपाल सरकारका पूर्व मुख्य सचिव तथा साहित्यकार डा. विमल कोइराला, साहित्यकार दिनेश अधिकारी, कर्णाली प्रदेशका पूर्व सचिव भरतकुमार शर्मा, जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसी लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य