नेभिगेशन
घटना/दुर्घटना

रुकुम पूर्वमा जिप दुर्घटना हुँदा पाँच घाइते

६ महिनाको शिशुसहित दुई जनाको अवस्था गम्भीर

रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित छिप्रिदह–दादिङ भित्री सडक खण्डमा सोमबार साँझ यात्रुवहाक जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

घाइतेमध्ये ६ महिनाको शिशुसहित दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर बिकका अनुसार साँझ  ६ बजे छिप्रिदहबाट दादिङतर्फ जाँदै गरेको लु १ ज २४७० नम्बरको जिप सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको हो। जिप सिस्ने गाउँपालिका–२ किदाका २३ वर्षीय खिममान खड्काले चलाउनुभएको थियो ।

जिपमा चालकसहित ११ जना सवार रहेकामा पाँच जना घाइते भएका छन् भने अन्य छ जना सकुशल रहेका छन्। दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको छ।
दुर्घटनामा सिस्ने गाउँपालिका–४ दादिङकी २७ वर्षीया रोसनी बुढामगरको हातमा चोट लागेको छ। उनका ६ महिनाका छोरा सर्लास बुढामगरको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसैगरी, २१ वर्षीया रमिता घर्तीको टाउकोमा चोट लागेको भए पनि उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
यस्तै, २३ वर्षीया धनकुमारी घर्तीको छाती, ढाड र टाउकोमा चोट लागेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालक खिम्मान खड्काको छाती र ढाडमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धाउन्ने र जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुम पूर्व ल्याएको जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना