नेभिगेशन
समाज
विद्यालयमा खानेपानीको हाहाकार

चिन्तुको विद्यालयमा खानेपानीको चिन्ता : पानी नहुँदा पाक्दैन दिवा खाजा, फैलिदैछ दूर्गन्ध

किताब कापी बोकेर विद्यालय गएका बालबालिका गैँती र बेल्चा बोकेर श्रमदान गर्दै

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० चिन्तुमा रहेको सरस्वती माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव भएको छ । विद्यालयमा खानेपानीको अभाव भएपछि विद्यार्थीहरु आफैं पाइपलाईन खन्ने काममा जुटेका छन् ।

‎विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर ओलीका अनुसार यसअघि पाखापानी लुगाधुने खोला ग्रामीण सौर्य खानेपानी आयोजनाबाट विद्यालयमा दैनिक पानी उपलब्ध हुने गरेको थियो । गत वैशाख १३ गते परेको चट्याङले खानेपानी आयोजनाको सौर्य पाता र इन्भटर जलेर नष्ट भएपछि गाउँ र विद्यालयमा पानीको समस्या भईरहेको छ । विद्यालयमा खानेपानीकै समस्या हुँदा पठनपाठनसमेत प्रभावित हुन थालेको छ ।

खानेपानी समस्या समाधानका लागि विद्यालयले तीन सय मिटर पाईप खरिद गरेर ल्याएको छ भने विद्यार्थीहरु पाईनलाईन खन्ने र पुर्ने कार्यमा जुटेका छन् । विद्यालयका अनुसार विद्यार्थी क्याप्टेन मदन खड्का र कक्षा १० का क्याप्टेन दिवस परियार लगायतको विद्यार्थी टोलीले खानेपानीको पाईपलाईनका लागि श्रमदान गरिरहेको छ ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी मदन परियारले वडाको विप्पे लेकमा रहेको ट्याङ्कीदेखि तीन सय मिटरको दुरीमा पाईपलाईन खन्ने र पुर्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । यसभन्दा पहिला पनि विप्पे लेकदेखि पाइपलाइनबाट पानी लिइएको थियो । सडक निर्माणको क्रममा भने उक्त लाईन नष्ट भएको थियो । सोहि लेकबाट पानी ल्याउन विद्यालयले अहिले पाईप किनेको हो । 

‎सानीभेरी गाउँपालिका वडा नम्वर ७, ८, १० र चौरजहारी नगरपालिका वडा नम्वर १३, १४ को सेवा क्षेत्र रहेको यस विद्यालयमा २३७ जना विद्यार्थीहरु रहेका छन् । उनीहरुले विद्यालयमा शौचालयको प्रयोग, पीउन तथा हातधुन पानी नभएकोले समस्या भईरहेको जनाएका छन् । विद्यालयका सहयोगी सुनिल कुमार बिकले खानेपानी नहुँदा दिवा खाजा समेत पकाउन नसकेको बताउनुभयो । पानी नै आउन छाडेपछि विद्यालयमा सरसफाईको अभाव समेत हुँदै गएको छ । 

‎‎विद्यालयमा दैनिक प्रयोगका लागि समेत पानी अभाव भएपछि विद्यार्थीहरू आफैं समस्याको समाधान खोज्न मैदानमा उत्रिएका छन् । विद्यार्थीहरुले श्रमदानमार्फत पाइपलाइन विस्तार गरेर पानी ल्याउने प्रयास गरेका छन् । विद्यालयमा पढ्न गएका विद्यार्थीहरू हातमा कोदालो र बेल्चा लिएर पाइपलाईन खन्ने, बिछ्याउने र पुर्ने काममा सक्रिय देखिएका छन् । 

‎‘शुक्रबार श्रमबार’को मुलनारासहित अतिरिक्त क्रियाकलाप तथा परियोजना कार्यलाई मुल्यांकन गर्न र खानेपानी आपूर्ति गर्न विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई श्रमदानमा लगाएको थियो ।

विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीसहित करिब १२५ जनाले खानेपानी ल्याउन श्रमदान गरेको प्रधानाध्यापक ओलीले जानकारी दिनुभयो । ‎‎स्थानीयवासी तथा अभिभावकहरूले विद्यालयमा खानेपानीको समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज