नेभिगेशन
समाज

रुकुमकी ५८ वर्षीया जनप्रतिनिधि कक्षा ८ को परीक्षा दिनुहुँदै 

शिक्षालाई छेक्दैन उमेरले

पढाई तथा सिकाइलाई उमेरले छेक्दैन भन्ने गतिलो उदाहरणका रुपमा हुनुहुन्छ ५८ वर्षीया जानकी देवी उपाध्याय । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडी निवासी उहाँ आईतबारबाट सुरु भएको कक्षा ८ को बार्षिक परीक्षामा सहभागी हुनुहुन्छ । 

वि.सं. २०२४ सालमा जन्मनुभएकी उहाँ हाल सोहि वडाको वडा सदस्य समेत हुनुहुन्छ । नगरपालिकास्तरिय यस परीक्षामा उहाँ ठुलीभेरी सामुदायिक अध्ययन केन्द्रद्वारा सञ्चालित अनौपचारिक शिक्षा तह -३ अन्तर्गत सहिद स्मृति नमूना माध्यमिक विद्यालयको परीक्षा केन्द्र (ख)बाट परीक्षा दिइरहनुभएको छ । 

आईतबार अंग्रेजी बिषयको परीक्षा दिनुभएकी उहाँले सुरु दिनमै परीक्षा राम्रो गरेको बताउनुभयो । उपाध्यायले ज्ञान लिने, सिक्ने कुरा उमेरले नभई चाहनामा भर पर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले यो उमेरमा पढ्न रहन गरे, हामीभन्दा पछाडीका नानीबाबूहरुले पनि पढाईलाई महत्व दिनुपर्छ । लापरबाहि गर्नुहुँदैन । शिक्षा भन्दा ठुलो अरु के हुन्छ र !”

उहाँ वडा नम्वर ९ को वडा सदस्य समेत हुनुहुन्छ । जनप्रतिनिधिको रुपमा गाउँमा काम गर्दा उहाँले पढाईको महत्व झन् बुझ्न पाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सानो हुँदा पढ्न पाएनौ, अहिले शिक्षाको महत्व बुझेदेखि पढ्न थालेकी छु ।” आफुले सिकेपछि, अध्ययन गर्न सक्ने भएपछि महिला अधिकारको बारेमा जान्न र बोल्न सकिने उहाँको भनाइ छ । 

आफु साक्षर नहुँदा अधिकारका तमाम् विषयमा बहस गर्न नसकिने, अरुकै भनाइ मान्नुपर्ने स्थिती रहेको उहाँको बुझाई छ । 

सहिद स्मृति माविका केन्द्राध्यक्ष नवीन कुमार शाहीले ५८ वर्षको उमेरमा पनि जनप्रतिनिधिले आधारभूत तहको परीक्षा दिने कुरा आफैमा प्रशंसनिय भएको बताउनुभयो । उहाँले यो उदाहरणीय प्रयासले समाजको शिक्षाको महत्व बारेमा सकारात्मक सन्देश पैदा गरेको बताउनुभयो । उपाध्यायले शिक्षाप्रति गरेको यो लगावले सबै उमेर समुहलाई प्रेरणा दिएको शाहीले बताउनुभयो । 

आठबिसकोट नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष जनक बटालाले वडा सदस्य उपाध्यय अत्यन्त सरल र सेवाभावले प्रेरित जनप्रतिनिधि रहेको बताउनुभयो । उहाँले कार्यालयका बैठक तथा बस्तीस्तरका छलफलहरुमा समेत नयाँ कुरा सिक्ने र सिकाउने कार्यलाई निरन्तरता दिदै आउनुभएको वडा अध्यक्ष बटालाले जनाउनुभयो । पढ्ने रहर र चाहनालाई उमेरले रोक्दैन भन्ने उदाहरणको रुपमा उपाध्यायलाई लिन सकिने उहाँको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्