नेभिगेशन
समाज

कृषि आधुनिकीकरण कार्यक्रमको अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वय इकाई सल्यानले रुकुम पश्चिममा सरोकारवाला निकायहरुका बिचमा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार मुसिकोट नगरपालिका -४ स्थित तरकारी बीउ उत्पादन केन्द्र चापाको सभाहलमा उक्त कार्यक्रममा सम्पन्न गरिएको हो । 

कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वय इकाईका प्रमुख अनिल कुमार बाँनियाले गत वर्षसम्म सल्यान र रुकुम पश्चिममा उक्त कार्यक्रम मार्फत सम्पन्न भएका र चालु वर्षमा हुने कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले सात वटा विभिन्न बालिका जोनहरु सञ्चालन गरिरहेको उक्त कार्यक्रम अन्तर्गत रुकुम पश्चिममा तरकारी बीउ जोन, मकै जोन र ओखर जोन कार्यक्रम सञ्चालन भईरहेको जनाउनुभयो । 

कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका सिंचाई योजना, चक्लाबन्दी कार्यक्रम, बीउ भण्डारण निर्माण, नर्सरी श्रोत केन्द्र निर्माण, पकेट कार्यक्रम, टनेल व्यवस्थापन लगायतका कार्यक्रमले कृषि क्षेत्रको विकास र बिस्तारमा महत्वपूर्ण प्रतिफल दिएको इकाई प्रमुख बाँनियाले उल्लेख गर्नुभयो । यसका साथै आधुनिक कृषि उपकरणहरुको वितरण, किसानहरुको क्षमता विकास लगायतका कार्यक्रमले किसानहरुलाई थप व्यवसायीक बन्न सघाउ पुगेको उहाँले बताउनुभयो । 

कार्यक्रममा सहभागी सरोकारवाला तथा किसानहरुले रुकुम पश्चिममा बीउको प्याकेजिङ तथा लेबलिङ हुन नसकेको, बजारीकरणमा समस्या रहेको, किसाहरुलाई कृषि सम्बन्धीका सूचनाहरु समयमै पुग्न नसकेको, उचित समयमा मल तथा बीउको व्यवस्थापन हुन नसकेको लगायतका समस्या तथा गुनासाहरु राखेका थिए । 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वय इकाई सल्यानका प्रमुख अनिल कुमार बाँनियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी मेगराज सोनी, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, त्रिवेणी गाउँपालिकाका पशु विकास अधिकृत डा. दिपक ओली लगायत विभिन्न सरोकारवाला कार्यलयका प्रमुख एवम् प्रतिनिधिहरु, किसानहरुको सहभागीता रहेको थियो । 

caa07793-45c6-44da-93ef-408850b95ab2-1764858827.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज