नेभिगेशन
समाज

चौरजहारी बजारको मुख्य सडक तीन दिनदेखि अबरुद्ध

रुकुम पश्चिमको चौरजहारी बजारको मुख्य सडक तीन दिन देखि अवरुद्ध रहेको छ । रुकुम पश्चिमबाट चौरजहारी हुँदै सल्लीबजार, सुर्खेत, नेपालगञ्जतर्फ जाने मुख्य सडक चौरजहारी नगरपालिका -१ को मुख्य बजार लाईनमा अवरुद्ध बनेको हो । 

चौरजहारी नयाँ शहर कार्यालय नजिकै रहेको उक्त सडक क्षेत्र लामो सयमदेखि बिग्रिएको अवस्थामा रहेको र निर्माणको काम नहुँदा स्थानीयवासीहरु रुष्ट रहेका थिए । सोहि सडक क्रस गरेर सिंचाईको कुलो जाने गरेको तर सडक निर्माणको जिम्मा पाएको ठेकेदारले होमपाईप बिनै टालटुल गरेको स्थानीयको गुनासो रहेको छ । 

चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम सुनारले कुलोको आसपास सडक कालोपत्रे नगरेको, लामो समयदेखि सडक मर्मत नगरेको, होमपाईपको व्यवस्था नगरेको कारण दिनहुँ सडकको अवस्था बिग्रदै गएको उल्लेख गर्नुभयो । व्यवस्थित रुपमा सडक निर्माण नगरेर अलपत्र छोडेपछि किसानहरुलाई सिंचाइको लागि पानी लिन समस्या हुने गरेको थियो ।

सडक निर्माण तथा सिंचाई कुलो व्यवस्थापनको लागि लामो समयसम्म सरोकारवाला कार्यालयले वेवास्ता गरेपछि किसान र स्थानीय समेत मिलेर गत सोमबार बेलुका उक्त सडकमा डोजर लगाएर गहिरो नाला बनाएका थिए । जसको कारण यातायातका साधनहरु नै उक्त सडकबाट जान बन्द भएको छ । 

उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष सुनारका अनुसार मुख्य सडक बन्द हुँदा यातायात व्यवसायीहरु, स्थानीयहरु समेतलाई आवतजावतमा समस्या भएको छ । यातायातका साधनहरुले बसपार्क देखि चौरजहारी अस्पतालतर्फ र बसपार्क देखि घारीगाउँतर्फको बैकल्पिक बाटो प्रयोग गर्ने गरेका छन् । 

नेपाली कांग्रेस चौरजहारीका सभापति प्रेम बहादुर ओलीले तीन दिनसम्म मुख्य सडक अवरुद्ध हुँदा पनि सडक सूचारुतर्फ कसैले चासो नगरेको बताउनुभयो । सडक निर्माणको क्रममा सिंचाई कुलोको बेवास्ता गरेर लामो समयसम्म छोडिएको कारण किसानहरु समस्यामा परेको उहाँको भनाइ छ ।

नजिकै रहेको नयाँ शहर आयोजना कार्यालय र प्रत्यक्ष सरोकार राख्ने वडा तथा नगरपालिका कार्यालयले उक्त समस्या समाधानका लागि तत्कालै पहल चाल्नुपर्ने सभापति ओलीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज