नेभिगेशन
समाज
जनतासँग स्थानीय सरकार

चौरजहारीमा जनतासँग स्थानीय सरकार : किसानलाई मल र बिउकै पीर

रुकुम पश्चिमका किसानहरुले उचित समयमै मल, बीउ र कृषि औजारहरु पाउन नसकेको गुनासो गरेका छन् । आईतबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ मा भएको ‘जनतासँग स्थानीय सरकार संवाद कार्यक्रम’ उनीहरुले किसानका समस्याहरु सुन्न र समाधान गर्न कोहि पनि तयार नभएको समेत जनाएका छन् । 

चौरजहारी नगरपालिका ११ का किसान सुनिता शर्माले चाहिएको बेलामा मल र बीउ पाउन मुश्किल हुने गरेको बताउनुभयो । उहाँले समयमै मल र बीउ उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो । अर्का किसान ईश्वरा देवकोटाले सिंचाई सुविधा र आधुनिक कृषि औजारहरु किसानलाई उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो । परम्परागत खेती प्रणाली र उपकरणले मनग्य उत्पादन हुन नसकेको उहाँको भनाई छ । 

कार्यक्रममा नगरपालिका प्रमुख पुष्प वादी, वडा अध्यक्षहरु र किसानहरुका बिच कृषी क्षेत्रका समस्या र समाधानका योजनाहरुको बारेमा दोहोरो संवाद भएको थियोे । नगरप्रमुख वादीले किसानहरुलाई बीउ, मल, सिंचाई सुविधा र आधुनिक औजारको उपलब्धताको लागि स्थानीय सरकारले सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा गुणस्तरीय बीउ, मल र आधुनिक कृषि औजारको उपलब्धता, कृषि उपजको मूल्य निर्धारण, किसानले उत्पादन बेच्दा न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने उपाय, स्थानीय बजार विस्तार, नगरस्तरमा किसानका उत्पादन बिक्रीका लागि बजार वा सहकारीको व्यवस्था लगायतका विषयमा नगर प्रमुख वादीले किसानहरुसँग छलफल गर्नुभएको थियो । 

मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत समृद्ध र सुरक्षित समुदाय रुकुम (थ्रीयस.आर.) परियोजनाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखाका अध्यक्ष गोपाल रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा किसानहरूका लागि सिंचाइ सुविधा, नहर, ट्युवेल वा पानीको स्रोत व्यवस्थापन, जलवायु परिवर्तनको असर, अनियमित वर्षा वा सुख्खा अवस्थालाई सामना गर्न नगरले बनाएका योजना, पशुपालनमा रोग नियन्त्रण, भ्याक्सिन र पशु चिकित्सा सेवा उपलब्धताका बारेमा पनि छलफल गरिएको परियोजनाका संयोजक सुदिप खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार  फलफूल, तरकारी, मत्स्यपालन जस्ता विकल्पलाई प्रोत्साहन गर्ने योजना, कृषि तालिम, किसानलाई आधुनिक खेती प्रविधि सिकाउने तालिम सञ्चालन गर्ने, डिजिटल प्रविधि मोबाइल एप वा डिजिटल प्लेटफर्ममार्फत किसानलाई जानकारी दिने योजनाहरूको बारेमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ६, १०, ११, १२ र १३ का कृषि तथा पशुपालन आमा समूहमा आबद्ध ४० बढी किसान र नगर प्रमुख पुष्प वादी, वडा नम्बर १० का अध्यक्ष वीरेन्द्र रोकाय, वडा नम्बर ११ का अध्यक्ष तुल्से ओली, वडा नम्बर १३ का अध्यक्ष श्रीकृष्ण शर्मा लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्