नेभिगेशन
समाज

रूकुम पश्चिममा ६ जिल्लाका ४२ कर्मचारीलाई सेवाकालीन तालिम प्रदान

रुकुम पश्चिममा सरकारी कर्मचारीहरुको लागी सञ्चालन भएको ३२ दिने सेवाकालीन प्रशिक्षण सम्पन्न भएको छ ।

गत असोज २२ गतेदेखि मुसीकोट नगरपालिका १ खलङ्गामा सञ्चालन भएको एक महिने (३२ कार्यदिन) प्रशिक्षण मङ्सिर ३ गते बुधबारका दिन समापन भएको हो । दसैँ तिहार लगायतको सार्वजनिक बिदाको कारण नियमित तालिम सञ्चालन हुन सकेको थिएन ।

आयोजक स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावालाखेल ललितपुरका अनुसन्धान अधिकृत टापेन्द्र प्रसाद रिजालका अनुसार तालिममा विभिन्न ६ जिल्लाका ४२ जना सरकारी कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यालय सञ्चालन तथा व्यवस्थापनका बिषयमा केन्द्रित भएको यस प्रशिक्षणलाई कर्मचारीहरुको बढुवाको लागि समेत आवश्यक मानिन्छ ।

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुको लागि तालिम सञ्चालन गरिएको अनुसन्धान अधिकृत रिजाल जनाउनुभयो । तालिमबाट कर्मचारीहरुको क्षमता विकास गर्नुका साथै कार्यालय सञ्चालन र व्यवस्थापन सीपको बृद्धि भएको बताईएको छ । तालिमममा रुकुम पश्चिम, सल्यान, डोल्पा, जाजरकोट, मुगु, हुम्ला लगायतका जिल्लाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा बिभिन्न कार्यालयमा कार्यरत खरिदार, नायब सुब्बा, स्थानीय तह र प्रदेश अन्तर्गतका सहायक चौथो र पाँचौस्तरका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रशिक्षणको सहजीकरण स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावालाखेलका कार्यकारी निर्देशन कानूनलाल चौधरी, अनुसन्धान अधिकृत टापेन्द्र प्रसाद रिजाल, रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानी, जिल्ला अदालत रूकुम पश्चिमका श्रेस्तेदार मन्दिरा शाही, जिल्ला न्यायाधिवक्ता दिनेश घिमिरे, जिल्ला समन्वय अधिकारी मेघराज सोनी, मुसिकोट नगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत यमकान्त पाण्डे, कोष नियन्त्रक गोविन्द प्रसाद सुवेदी लगायतले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज