नेभिगेशन
समाज

मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा बीमा साक्षरता कार्यक्रम सम्पन्न

रुकुम पश्चिमको मुसीकोटस्थित खलंगा बहुमुखी क्याम्पसमा कर्णाली प्रदेश बीमा प्राधिकरण सुर्खेतले बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

बीमाबारे जनस्तरमा व्यवहारिक ज्ञान, सचेतना र पहुँच विस्तार गर्ने उद्देश्यले सोमबार कार्यक्रम आयोजना गरिएको बताईएको छ । 

कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको क्याम्पसले जनाएको छ। कार्यक्रममा प्राधिकरणका प्रतिनिधिहरू निलप्रसाद लमिछाने, उप–निर्देशक तथा प्रदेश कार्यालय प्रमुख, विपना पन्थी, सहायक निर्देशक, भीमबहादुर माझी, सहायक निर्देशक विश्वराज भट्टराई, सहायक अधिकृत (प्रथम)  आदीले सहजिकरण गर्नु भएको थियो ।

बीमा क्षेत्रको आधारभूत संरचना, जीवन तथा आजीवन बीमाका प्रकार, बीमा दाबी दर्ता प्रक्रिया, उपभोक्ता अधिकार, बीमा धोका नियन्त्रण, र हालै लागू भएका प्राविधिक तथा कानुनी व्यवस्था लगायत विषयमा विस्तृत जानकारी  दिईएको थियो। कार्यक्रमका सहभागीहरूलाई बीमा नलिनुबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम तथा बीमाबाट पाउन सकिने वित्तीय सुरक्षाबारे पनि व्यवहारिक उदाहरणसहित प्रष्ट पारिएको थियो।

क्याम्पस प्रमुख डम्बरबहादुर खड्काले बीमा शिक्षा अहिलेको आर्थिक परिवेशमा अत्यन्तै जरुरी रहेको उल्लेख गर्दै प्राधिकरणले क्याम्पसमै पुगेर जानकारी प्रदान गर्नु सकारात्मक पहल भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूबीच वित्तीय विवेक र दिगो योजनाबारे सचेतना बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गनुभयो।

त्यसैगरी ग्राजुयट स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत कार्यरत आंशिक प्राध्यापक राधा बिकले बीमा साक्षरताले विद्यार्थीहरूलाई व्यक्तिगत तथा व्यावसायिक दुवै तहमा सक्षम बनाउने बताउँदै बीमा क्षेत्रबारे थप अध्ययन र अनुसन्धान गर्न विद्यार्थीहरुलाई  प्रेरित गर्नुभयो।

कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले बीमा सम्बन्धी धेरै अस्पष्ट विषयहरू स्पष्ट भएको बताउँदै प्राधिकरणले प्रदेशका शैक्षिक संस्थामा नियमितरूपमा यस्ता कार्यक्रम विस्तार गर्न अनुरोध गरेका छन् । 

1763367279302-1763455938.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज