नेभिगेशन
समाज

गर्भमै बच्चाको मृत्यु भएपछि आमालाई हेलिकोप्टरमार्फत उद्धार

रुकुम पश्चिमबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ निवासी ३९ वर्षीया मोती बिकलाई शुक्रबार हेलिकोप्टर मार्फत रुकुम पश्चिमको सल्लेबाट सुर्खेत लगिएको हो । 

रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीका अनुसार स्वास्थ्य अवस्था गम्भिर भएको जानकारी जिल्ला अस्पतालले गराएपछि राष्ट्रपति महिला सशक्तिकरण परियोजना मार्फत उहाँलाई हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लिईएको हो । 

स्वास्थ्य सेवा कार्यालयका प्रमुख जीवन परियारका अनुसार बिकलाई आज बिहान जिल्ला अस्पतालको इमरजेन्सी सेवामा ल्याईएको थियो । उहाँको गर्भमा बच्चाको मृत्यु भएको, साल पाठेघरको मुखमा आएको, रक्त अल्पता समेत भएको र पानीको फोका फुटेको हुनाले मृत बच्चालाई अपरेशन गरेर निकाल्नुपर्ने अवस्था रहेको थियो ।

त्यसका साथै आमालाई भेन्टिलेटरका साथ आईसियुमा राखेर उपचार गर्नुपर्ने तर जिल्लामा उक्त सुविधा नभएपछि सुविधा सम्पन्न अस्पतालमा तुरुन्तै लैजान भनेर रिफर गरिएको थियो । 

बिकको आर्थिक अवस्था कमजोर भएकोले राष्ट्रपति महिला सशक्तिकरण परियोजना मार्फत हेलिकोप्टरको व्यवस्था गरेर उहाँको उद्धार गरिएको सहायक प्रजिअ ओलीले जानकारी दिनुभयो । हाल उहाँलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज