नेभिगेशन
समसामयीक
अनुभूति

मामुली ड्रेसमा जाँदा दुर्व्यवहार गरे, सुटेट बुटेट ड्रेसमा जाँदा गेटमै स्यालुट गरे (उप-सचिव श्रेष्ठको अनुभूति)

कर्मचारीहरु प्रति मेरो नकारात्मक धारणा त होइन, छैन तर बेला बेलामा ठोक्किँदा देखिने व्यवहारले कर्मचारीहरु अल्छी र गैरजिम्मेवार नै हुन्छन् कि क्या हो भनेर आफैलाई निहुरेर घुरेर हेर्न मन लाग्ने रहेछ ।

सरकारी कार्यालयमा त आफ्नो परिचय नदिई सेवा प्राप्त गर्दा वा सेवा प्रवाहको साक्षी बन्दा आफ्नो रुप धेरै पटक हेरिसकेको छु । त्यसमा धेरै व्याख्या विवेचना गर्नै परेन ।

निजी क्षेत्र खासगरी बहुराष्ट्रिय कम्पनीका आधिकारिक विक्रेता शाखा/पसल जसले मालसामान विक्री गर्छन्, सेवा दिन्छन्, त्यस्ता शाखा/पसल सर्विस सेन्टरका जागिरे कर्मचारीको व्यवहार जाँगर हेर्दा पनि उही अल्छी र गैरजिम्मेवारीपन फरक देखिएन ।

उदाहरण - १ 

म आफैले मलाई मेरो स्पेशिफिकेसनको सस्तो/सानोतिनो सामान किन्न अधिकृत विक्रेता भनिएका ठूलो ठाउँमा गएर सोध्दा सकेसम्म नबोल्ने, मोबाइल चलाएरै बस्ने, बोले पनि झर्केर बोल्ने । "छैन, पाइँदैन, सकियो" मात्र भन्ने । अन्यत्र शाखा पसलमा कतै पाइन्छ होला कि नाई भनेर सोध्यो भने "कहीँ पनि पाइँदैन, अब आउँदैन" भन्ने जवाफ पाइन्छ . तर अलि पर सानसानो पसलमा गएर सोध्यो भने बजार वरपर आफ्नो सर्कलमा फोन गरेर त्यही छैन भन्ने स्टोरमा गएर १०० रुपैयाँ बढी लिएर उलब्ध गराउँछ । बेच्छ । यस्ता घटनाको अनुभव मसँग ३/४ वटा छन् ।

उदाहरण - २

म सँग भएको कुनै उपकरणमा समस्या आयो । मर्मत गर्नुपर्ने भयो । सबैभन्दा पहिले म त्यसको आधिकारिक सर्विस सेन्टरहरुमा धाएँ । त्यसभित्रको पार्टपूर्जा नै फेर्नुपर्छ धेरै पैसा लाग्छ । नबनाउनुस्, बनाउने हो भने यति लाग्छ भनेर भनिदिए । त्यसपछि अर्को ठाउँको आधिकारिक सर्विस सेन्टरमा गएर सोधेँ । त्यहाँ पनि उस्तै जवाफ पाएँ, लागत मूल्यमा भने फरक पाएँ ।

धेरै समयपछि सामाजिक सञ्जालमा कुनै एउटा मर्मत पसलको बारेमा थाहा पाएँ र सम्पर्क गरेँ । उनले मेरो उपकरणको लक्षण हेरेर एउटा सानो Parts परिवर्तन गर्नुपर्ने र त्यसका लागि सानो रकम खर्च गरे पुग्ने बताए ।

आधिकारिक सर्विस सेन्टरमा भनिएको लागत रकमको कैयौं गुणा कम रकम (6.6% मात्र रकम) लागतमा मेरो उपकरण पहिलेजस्तै अवस्थामा प्रयोग गर्न सक्ने अवसर प्राप्त गरेँ ।

उदाहरण - ३

उही ठूलो आउटलेटमा बिदाको दिन मामुली ड्रेसमा कुनै चिज सोध्न गएँ, गेटमा बसेका सेक्युरिटी देखि कर्मचारी सबैले मिसबिहेब गरे । मेरो सोधेको उत्तर नै नदिएपछि त्यो वस्तु नकिनेरै फर्किएँ । मलाई त्यो वस्तु चाहिने नै भएपछि अफिसबाट फर्किने बेला त्यही पसलमा छिरेँ ।

त्यसदिन भने फरक व्यवहार भयो ।

म सुटेट बुटेट ड्रेसमा थिएँ । गेटमै स्यालुट ग्रहण गरेँ । कर्मचारीहरु जर्‍याकजुरुक्क उठे । नमस्कार गरे । मलाई भित्रपट्टिको सोफामा लगेर राखे । पानीको गिलाससँगै चिया, कोल्ड ड्रिङ्स र खाजा वा अरु के लिनुहुन्छ भनी सोध्न थाले ।

मैले मलाई हतार छ केही खान्न भन्ने जवाफमा चिया वा कोल्ड ड्रिङ्स मध्ये एक त लिनैपर्छ भनी जिद्धी गर्न थाले । म चाहिँ अघिल्लो अपमान सम्झँदै त्यो सत्कारको अस्वीकार गरेर आफूलाई चाहिने बस्तुको बारेमा बुझेर फर्किएँ ।

माथिका उदाहरणबाट के अनुमान लगाउन सकिन्छ भने तलब सुविधा लिएर अरुकै लागि काम गर्ने हामी जस्ता सबै खाले (अपवाद बाहेक) कर्मचारीहरु :

१) सुकिला-मुकिला, ठूलाबडालाई मात्र मान्छै गन्छौं ।

२) हाम्रो रोटी, भोटी र परिचय दिने संस्था/संगठन वा मालिक प्रति इमान्दार छैनौं । देखावटी छौं । जसले संस्थालाई घाटा पुर्‍याइरहेको छ ।

- ( लेखक श्रेष्ठ, नेपाल सरकारको उप-सचिव हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्