नेभिगेशन
समाज

आठविसकोटमा कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

आठविसकोट नगरपालिकामा पोषण सुरक्षाका लागि कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी (PLA: LANN+) प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

BMZ को आर्थिक सहयोग, WHH को प्राविधिक सहयोग तथा FTGN, RRN MIC नेपालको साझेदारीमा सञ्चालित SUSTAIN परियोजना मार्फत उक्त तालिमको सञ्चालन गरीएको हो ।

सरोकारवालाहरूको क्षमता अभिवृद्धि गरी LANN+ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समुदायमा पोषण सुधारका कार्यक्रमहरूलाई सुदृढ बनाउन बैशाख २६ गतेदेखि ३० गतेसम्म उक्त तालिमको आयोजना गरीएको कार्यक्रम संयोजक उदय केसीले जानकारी दिनुभयो ।

तालिमका क्रममा सहभागीहरूलाई LANN+ को २४ सत्रीय अवधारणा, कृषि तथा पोषणको अन्तरसम्बन्ध, व्यवहार परिवर्तन, समन्वय तथा सहजीकरण सीप सम्बन्धी विषयमा व्यवहारिक तथा सहभागितामूलक ढंगले प्रशिक्षण प्रदान गरिएको बताइएको छ ।

तालिमको मुख्य प्रशिक्षकका रुपमा सुवासचन्द्र घिमिरे र सहयोगी सहजकर्ताको रूपमा RRN की MEAL तथा GESI अधिकृत माया अधिकारी तथा WHH का Technical Coordinator गोविन्द ढकाल रहनुभएको थियो ।

तालिममा महिला स्वास्थ्य स्वयंसेविका (FCHV) ९ जना, परियोजना कर्मचारी ७ जना, Change Agent ९ जना तथा मुसिकोट नगरपालिकाको स्वास्थ्य तथा कृषि शाखाबाट २ जना प्रतिनिधिसहित कुल २७ जनाको सहभागिता रहेको थियो ।

सहभागीहरूले तालिममार्फत पोषण संवेदनशील कृषि, घरायसी खाद्य विविधता, सरसफाइ, मातृ तथा शिशु पोषण, जलवायु उत्थानशील कृषि तथा समुदाय स्तरमा व्यवहार परिवर्तनका अभ्यासहरू सम्बन्धी महत्वपूर्ण ज्ञान तथा सीप हासिल गरेका थिए ।

तालिम पश्चात सहभागीहरूले समुदाय स्तरमा LANN+ का विभिन्न सत्र सञ्चालन गर्ने, कृषक तथा समुदाय समूहहरूलाई परिचालन गर्ने, पोषण र सरसफाइ सम्बन्धी व्यवहार परिवर्तन अभियान सञ्चालन गर्ने तथा कृषि र पोषणबीचको अन्तरसम्बन्धलाई व्यवहारमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ ।

मिक नेपालकी कोषाध्यक्ष सुमिता कुमारी घर्ति बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन FTG नेपालका उद्यम विकास अधिकृत प्रचण्ड मल्लले गर्नुभएको थियो ।

समापन कार्यक्रममा Change Agent दिपा शर्मा तथा महिला स्वास्थ्य स्वयंसेविका ललिता शर्माले तालिमबाट प्राप्त सिकाइ उपलब्धि तथा समुदायमा यसको व्यवहारिक उपयोगिताका बारेमा आफ्ना अनुभव र धारणा व्यक्त गर्नुभएको थियो । त्यसैगरी WHH का Technical Coordinator गोविन्द ढकालले तालिम पश्चात सहभागीहरूबाट समुदायमा सकारात्मक व्यवहार परिवर्तन, पोषण सुधार तथा दिगो कृषि अभ्यास विस्तार हुने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज