नेभिगेशन
समाज

रुकुम पूर्वका नर्सिङ कर्मचारीहरुलाई मनोसामाजिक तालिम

रुकुम पूर्वका नर्सिङ कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम बुटवलमा सुरु भएको छ।

स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजनामा र नेपाल जनजागरण मञ्च रुकुमको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सुरु भएको हो । मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तालिम सुरु गरिएको हो ।

मानसिक स्वास्थ्य अझै पनि अन्य स्वास्थ्य सेवाको तुलनामा ओझेलमा परेका कारण पनि नर्सिङ कर्मचारीलाई विशेष तालिम दिई मानसिक स्वास्थ्यलाई समुदायस्तरमै प्रभावकारी ढंगले अघि बढाउने कार्यक्रमको उद्देश्य रहेको छ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिव नेपालीले नेपालमा गैर–संक्रामक रोगहरूमध्ये करिब १८ प्रतिशत समस्या मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको वताउनु भयो । १३ देखि १७ वर्षका किशोर–किशोरीमध्ये करिब ६ प्रतिशत र १८ वर्षभन्दा माथिका वयस्कमध्ये १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको उहाँले बताउनु भयो।

उहाँले विशेषगरी प्रजनन उमेर समूहमा आत्महत्याको समस्या अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै यसलाई सामाजिक तथा स्वास्थ्य दुवै दृष्टिले सम्बोधन गर्नु पर्ने बताउनु भयो । मानसिक समस्या शारीरिक रोगभन्दा कम खतरनाक नभएको भन्दै समयमै पहिचान, उचित परामर्श र उपचारले मानिसलाई सामान्य जीवनमा फर्काउन सकिने र मानसिक स्वास्थ्यप्रति अझै पनि समाजमा गलत बुझाइ, लाज र छिपाउने प्रवृत्ति रहेको स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुवन कुँवरले बताउनुभयो ।

मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा छ। यसले केवल बिरामी व्यक्तिलाई मात्र होइन, परिवार र समुदायलाई समेत प्रभावित पार्छ। त्यसैले स्वास्थ्यकर्मीहरूले नजिकबाट बुझ्ने, प्रारम्भिक उपचार दिने र आवश्यक परामर्श तथा सिफारिस गर्ने काममा अग्रसर हुनुपर्ने कुँवरले बताउनुभयो।

नेपाल जागरण मञ्च रुकुमका सहसचिव दिपेन्द्र महतराले संस्था २०६३ सालमा स्थापना भएको र स्थापनाकालदेखि नै मानसिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम, शिबिर र तालिम लगायतका कार्य गर्दै आएको बताउनुभयो । नेपाल जनजागरण मञ्च मानसिक स्वास्थ्य क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने कार्यमा सक्रिय रूपमा लागिरहेको र संस्थाले ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यबारे चेतना जगाउने, शिबिर संञ्चालन गर्ने विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, कार्य गर्दै आएको नेपाल जनजागरण मञ्चका सह-सचिव महताराले बताउनुभयो ।

कार्यक्रममा रुकुम पूर्वका १२ जना नर्सिङ कर्मचारीहरूको उपस्थिति रहेको छ। तालिम उद्घाटन स्वास्थ्य तालिम केन्द्र बुटबलका निमित्त निर्देशक भुबन कुबँर अध्यक्षता रहेको थियो । कार्यक्रममा जनस्वास्थ्य प्रशासक शिब शार्कीको प्रमुख तथा, नेपाल जनजागरण मञ्चका सहसचिव दिपेन्द्र महताराको बिशिष्ठ आतिथ्य रहेको थियो ।

त्यस्तै मनोरोग बिषेशयज्ञ बिनोद पौडेल, नेपाल जागरण मञ्च रुकुमका pro -Act परियोजनाका परियोजना अधिकृत रुकुम टमटा, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नर्सिङ निरिक्षक सबिता ज्ञवालीले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्