नेभिगेशन
समाज

रुकुम कारागारबाट फरार २९ कैदी : कर्तव्य ज्यान, बलात्कार लगायतका मुद्धाका दोषी 

रुकुम पश्चिम कारागारबाट भागेका कैदीबन्दी मध्य ५९ जना कैदीबन्दी नियन्त्रणमा आएका छन् । गत मंगलबार कारागारबाट भागेका ८८ जना मध्य २९ जना अझै फरार रहेका छन् । उनीहरु बलात्कार, कर्तव्य ज्यान लगायतका जघन्य अपराधमा दोषि करार भएका कैदीबन्दीहरु हुन् । 

कारागार कार्यालयका प्रमुख केशव ओलीका अनुसार विभिन्न अपराधमा संलग्न २९ जना कैदीबन्दीहरु अझैसम्म नियन्त्रणमा आएका छैनन् । उहाँका अनुसार जबरजस्ती करणी मुद्धाका ६ जना, कर्तव्य ज्यान मुद्धाका ११ जना, लागु औषध मुद्धाका सात जना, सवारी ज्यान मुद्धाका एक जना, ज्यान मार्ने उद्योगका दुई जना र हातहतियार सम्बन्धि मुद्धाका दुई जना अझैसम्म फरार रहेका छन् ।

उनीहरु रुकुम पश्चिम, रुकमु पूर्व, सल्यान, दाङ लगायका जिल्लाका हुन् । कारागार कार्यालयका अनुसार २५ जनाको क्षमता रहेको यस कारागारमा घटना हुँदाको दिन १५८ जना कैदीबन्दीहरु रहेका थिए । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार हालसम्म ५९ जना कैदीबन्दी नियन्त्रणमा ल्याईएको छ । ५५ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेर ल्याईएको हो भने चार जना आफै सम्पर्कमा आएका हुन् ।  प्रहरीले कारागारबाट भागेकाहरूको खोजी तीव्र पारेको जनाएको छ ।

काठमाडौ लगायत देशका विभिन्न स्थानमा भएको जेन–जी आन्दोलनको मौका पारेर मुसिकोट नगरपालिका -१ स्थित रुकुम कारागारबाट ८८ जना कैदीबन्दी तोडफोड गरेर भागेका थिए । 

प्रहरीले विभिन्न अपराधमा संलग्न कैदीबन्दीहरु फरार भएर विभिन्न स्थानमा लुकेको थाहा पाएमा सूचना दिन आग्रह गरेको छ । उनीहरुले गाउँमा विभिन्न घटना घटाउन सक्ने भएकोेले सचेत रहन समेत प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले कैदीबन्दीहरु कारागार तोडफोड गरेर भागेको घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जनाएको छ । 

कैदीहरु भाग्नुअघि कारागार भित्र तोडफोड समेत गरेका थिए । २०४२ सालमा निर्माण गरिएको कारागारका दुई वटा, ६ कोठे भवन जीर्ण अवस्थाका छन् । जिर्ण भवनमा रहेको मुल ढोका फोडेर उनीहरु भागेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्