मध्यपश्चिम विश्वविद्यालय बिजनेस इन्क्युबेशन सेन्टरको बिजनेश आइडिया पिचिङमा मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमले पेश गरेको जलवायु अनुकुलन जडीबुटी खेती र स्थानीय वेलनेस ब्रान्डिङ सम्बन्धी व्यावसायिक प्रस्ताव योजना छनौट भएको छ ।
उक्त ग्रीन रुकुम परियोजना विद्यार्थी, प्राध्यापक र स्थानीय किसानबीच सहकार्य अघी बढाउने र क्याम्पसका शिक्षा तथा ब्यवस्थापनका विद्यार्थीहरूलाई प्रोजेक्टमा प्रत्यक्ष व्यावहारिक तालिम र अभ्यासमा संलग्न गराउदै नर्सरी व्यवस्थापन, उत्पादन, गुणस्तर परीक्षण र समुदाय स्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने परियोजना रहेको क्याम्पसले जनाएको छ ।
कार्यक्रमका संयोजक डम्बरबहादुर खडकाका अनुसार शैक्षिक ज्ञानलाई स्थानीय आवश्यकता र बजारसँग जोडेर विद्यार्थीलाई व्यावहारिक बनाउने विश्वविद्यालय अनुदान आयोग र मध्यपश्चिम विश्ववद्यालयका नितिहरु अनुरुप क्याम्पस सहभागी भएको हो । युवा विद्यार्थीहरुलाइ सीप, उत्यादन र ब्यवसायीक अनुभव दिने यो अभियानले क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि सुनौलो अवसर ल्याएको उहाँको भनाइ छ ।
यसमा मध्यपश्चिम विश्वविद्यालय बिजनेस इन्क्युबेशन सेन्टरमार्फत स्टार्टअप सल्लाह, ब्रान्डिङ रणनीति, पिचिङ तालिम र लगानीकर्ता–प्रवेश जस्ता परामर्श सेवाहरू उपलब्ध गराइनेछ। मध्यपश्चिम विश्वविद्यालय बिजनेस इन्क्युबेशन सेन्टरको गाइडलाइन र उद्यमी नेटवर्कले स्थानीय उत्पादनमा मूल्य अभिवृद्धि गर्ने—एकीकृत प्याकेजिङ, लेबलिङ र बजार–रणनीति निर्माणमा सहयोग पुर्याउने योजना बनाइएको छ। यसरी किसान र युवा उद्यमीले राष्ट्रिय तथा सम्भव भएमात्र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच बढाउन सक्ने खड्काले जनाउनुभयो ।
परियोजनाका मुख्य क्रियाकलापहरू :
रुकुम जिल्लामा सुरु गरिएको यो परियोजनाको मुख्य उद्देश्य जलवायु–मैत्री जडीबुटी खेती प्रवर्द्धन गर्दै दिगो कृषि अभ्यासलाई मजबुत बनाउने र स्थानीय समुदायको स्वास्थ्य तथा आम्दानी सुधार गर्नु हो। रुकुम जैविक विविधता र परम्परागत जडीबुटी ज्ञानको धनी भए पनि जलवायु परिवर्तनका कारण अनियमित मौसम, माटोको उर्वराशक्ति घट्दै जाने समस्या र उत्पादनशीलता कम हुँदै गएको छ।
यसले साना किसानहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ। यसलाई हल गर्न परियोजनाले जलवायुमैत्री खेती प्रविधि ल्याउने, माटोको गुणस्तर सुधार गर्ने, उत्पादन बढाउने र स्थानीय प्रजातिहरू जोगाउने काम गर्नेछ। साथै किसानलाई तालिम र चेतना कार्यक्रममार्फत जैविक खेतीतर्फ प्रोत्साहित गर्दै रासायनिक मलरऔषधिप्रति निर्भरता घटाउने प्रयास गर्नेछ।
परम्परागत ज्ञान र आधुनिक प्रविधि मिलाएर समुदायलाई आत्मनिर्भर र वातावरणमैत्री बनाउन मद्दत गरिन्छ। यस परियोजनाको अर्को महत्त्वपूर्ण पक्ष हो “लोकल वेलनेस ब्रान्डिङ” रुकुमका अर्गानीक खानेकुरा र जडीबुटी उत्पादनलाई विशिष्ट ब्रान्डमार्फत बजारमा प्रस्तुत गर्ने हो।
यसले उत्पादनलाई आधुनिकता दिनेछ, मूल्य बढाउँनेछ, र किसानलाई फराकिलो बजारमा पुर्याउँनेछ। यसरी यस परियोजनाले जलवायु चुनौतीसँग जुध्न सक्ने कृषि अभ्यास, स्थानीय ज्ञानको संरक्षण, किसानको आयवृद्धि, र ग्रामीण आर्थिक विकासमा योगदान पुर्याउँनेछ।
क्याम्पसको ग्रीन रुकुम परियोजना को सारथी को हो ?
कर्णाली प्रदेशमा उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन गर्न विद्यार्थी र स्थानीय नवउद्यमीलाई आवश्यक तालिम, सञ्जाल जोड, र मार्गदर्शन उपलब्ध गराउँदै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य का स्थापना भएको साथ मध्यपश्चिम विश्वविद्यालय को बिजनेस इन्क्युबेशन सेन्टर नै यसको सारथी हो । जसका मुख्य उद्देश्य र कामका मुख्य क्षेत्र उद्यमशीलता क्षमता विकास जस्ता निःशुल्क तालिमहरू सञ्चालन गरी स्टार्टअप स्थापना र रोजगारी सिर्जनामा जोडदिने रहेको छ । कार्यक्रम विशेषगरी कर्णाली प्रदेश केन्द्रित छन।
पाठ्यक्रम, कार्यक्रम विकास : उद्यमशीलता र नवप्रवर्तनसम्बन्धी उन्नत पाठ्यक्रम विकासका लागि सरोकारवालासँग परामर्श, छलफल सत्रहरु सम्पन्न गर्ने, मुसोम लगायत विश्वविद्यालयका संकाय, स्कुलहरूसँग सहकार्य गर्दै अभ्यास आधारित सिकाइ, सेमिनार, वर्कशप र उद्योग सञ्जाल बलियो बनाउने ।
उपादेयताहरु : युवा पलायन र बेरोजगारीले निराशा पैदा गरेको परिवेशमा गाउँमै स्थायी रोजगारीको अभाव र आयको अनिश्चितता लाई हल गर्न उच्च शैक्षिक सस्थाले निभाउनु पर्ने भुमिका को रुपमा यो ग्रीन रुकुम जडीबुटी खेती र स्थानीय वेलनेस ब्रान्डिङ परियोजना ल्याइएको हो ।
जलवायु–सहनशील औषधीय बालीको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङसम्मको समग्र शृङ्खला गाउँभित्रै सक्रिय भएपछि, खेतदेखि बजारसम्म दर्जनौँ कामका अवसर सिर्जना हुन्छन्। यसले परम्परागत कृषि मात्र होइन, जैविक मल,झोलमोल उत्पादन, नर्सरी, ढुवानी, खुद्रा बिक्री, अनलाइन मार्केटिङजस्ता नयाँ कार्यक्षेत्रतर्फ युवालाई आकर्षित गर्छ।
युवालाई उद्यमशील बनाउन परियोजनाले प्रविधि, सीप र बजार पहुँच जोडिदिन्छ जस्तै भर्मी कम्पोस्ट र भर्मी वाश उत्पादन, जडीबुटी सुख्खा तेल निष्कर्षण, गुणस्तर मापदण्ड र लेबलिङ, डिजिटल बिक्री आदी। कम पूँजीमा सुरु गर्न मिल्ने यस्ता सूक्ष्म–उद्यमले नियमित आम्दानी मात्र होइन, सिकेका सीपलाई विस्तारयोग्य व्यवसायमा रूपान्तरण गर्ने पथ निर्माण गर्छ। परिणामस्वरूप, “रोजगारीका लागि विदेश” भन्दा “उद्यमका लागि गाउँ” भन्ने मानसिकता बलियो बन्छ।
गाउँमै काम र आम्दानी स्थिरता भएपछि पलायन घट्छ, परिवार एकताबद्ध रहन्छ, र गाउँको सामाजिक–आर्थिक जीवन्तता बढ्छ। महिलाहरू, वैदेशिक रोजगारबाट फर्केकाहरु र सीमान्त किसान समेटिँदा समावेशी रोजगारी बढ्छस सहकारी, कलेज इन्क्युबेसन र स्थानीय सरकारसँगको सहकार्यले बीउ–अनुदान, सूचनाप्रवाह र बजार सम्झौता सहज हुन्छ। यसरी समुदायस्वामित्वमा आधारित उत्पादनले आर्थिक फाइदा मात्रै होइन, स्थानीय पहिचान र गौरव पनि उकास्छ।
दीर्घकालिन रुपमा, “ग्रीनरुकुमं” जस्तो स्थानीयतामा आधारित ब्रान्डिङले रुकुमका मकै भटमास, टिमुर, अदुवा आदिलाई उच्च मूल्यको बजारमा पुर्याएर आयस्थायित्व सुनिश्चित गर्छ। जलवायु–स्मार्ट अभ्यासले माटो स्वास्थ्य र उत्पादकत्व जोगाउँछ, जसले जोखिम कम र नाफा स्थिर राख्छ। यसरी परियोजनाले बेरोजगारी घटाउने, युवा पलायन रोक्ने र ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर र दिगो मार्गमा डोर्याउने दुवै लक्ष्य एकै साथ साध्य गर्छ।