नेभिगेशन
समाज

गाउँमा नेताले मत माग्छन्, जनताले पानी

आगामी फागुन २१ मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको लागि मत माग्दै विभिन्न दलका उम्मेदवार र नेताहरु गाउँमा केन्द्रित भएका छन् । गाउँ पुगेका नेताहरुले विकास र समृद्धिको आश्वासन दिईरहेका छन् । 

जनताले भने गाउँमा आधारभूत आवश्यकताहरुकै अभाव रहेको गुनासो गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका –१३ को सबैभन्दा माथिल्लो स्थानमा रहेका पाँच बस्तीमा खानेपानीको चरम अभाव रहेको छ । यहाँका स्थानीयले पानी दिने नेतालाई मात्र मत दिने बताएका छन् । 

स्थानीय समेत रहनुभएका जनविकास माध्यमिक विद्यालय ज्यामिरकोटका शिक्षक दिपक थापाले वडाको रातामाटा, दह, मौराजे, काफलधारा र थामगाउँमा अहिलेसम्म पानीको सुविधा नपुगेको बताउनुभयो । पर्यटकीय हिसाबले समेत सम्भावना बोकेका यी टोलहरुमा खानेपानीकै पीरलो रहेको थापाले उल्लेख गर्नुभयो ।

हरेक निर्वाचनमा आउने दलका नेता र उम्मेदवारहरुले खानेपानीको सुविधा पु¥याउने आश्वास दिएतापनि वर्षौदेखि यहाँका सर्वसाधारणहरु यो सुविधाबाट बञ्चित रहेका छन् । करिब १५० घरधुरी रहेका यी बस्तीमा मात्र ६९० मतदाता र एक हजार बढी जनसङख्या रहेको छ । 

स्थानीय केशव थापाले चुवावमा मत माग्दै आउने नेतालाई खानेपानीको विकराल अवस्था जानकारी गराउने र जसले समस्या समाधानका लागि लिखित प्रतिबद्धता गर्छ उसैलाई मत दिने बताउनुभयो ।

अहिलेसम्म गाउँलेहरुले छ किलोमिटर टाढा रहेको मौराखारा लेकमुनीको मुहानबाट पानी बोकेर ल्याउने गरेको थापाले जानकारी दिनुभयो । यहाँ आलु र तोरीको राम्रो खेती समेत हुने गर्दछ । तर सिंचाई सुविधा नहुँदा उर्वर भूमीले मनग्य उत्पादन दिन सकिरहेको छैन । 

वडा अध्यक्ष टेकबहादुर थापाले वडाको माथिल्लो क्षेत्रमा खानेपानीको सुविधा नरहेको बताउनुभयो । वडा तथा पालिकाको बजेटले मात्र गाउँका माग र विकासे योजना पुरा गर्न नसकिने, प्रदेश र संघले ग्रामीण क्षेत्रका आवश्यकतामा वास्ता नगर्ने गरेको उहाँको गुनासो छ । 

प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता राजु केसीले जनताका आधारभूत आवश्कता सम्बोधन र समस्या समाधानका लागि चुनावी मैदानमा उत्रिएको बताउनुभयो । जनताको माग र आवश्यकताहरु प्राथमिकिकरण गरेर विकासका योजनाहरुमो जोड दिने उहाँको प्रतिबद्धता रहेको छ । 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले पनि आधारभूत आवश्यकताहरुको पूर्तिमा जोड दिदै ‘शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार : आत्मनिर्भर रुकुम पश्चिमको आधार’ भन्ने मूल नारा तय गरेर मतदाता माझ गएको बताउनुभयो । विभिन्न पाँच वटा विषयगत क्षेत्रहरु उल्लेखित मार्गदर्शन तय गरेर जनतामाझ दिगो विकास र समृद्धिको सङकल्प बोकेको उहाँले उल्लेख गर्नुभयो ।

प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता दलबहादुर खड्काले जनताका माग पुरा गर्न पार्टीले जिल्लाको अभिभावको रुपमा जनार्दन शर्मालाई उम्मेदवार बनाएको बताउनुभयो । जनताका आधारभूत आवश्यकतासँगै रोजगार र आर्थिक विकासको मुद्धा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको खड्काले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्