नेभिगेशन
समाज

मुसिकोट १० जोड्न पाँच नाकाबाट खोलियो सडक 

वडा भित्रै चार सडक निर्माण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१० जोड्न विभिन्न पाँच वटा सडक निर्माण भएका छन् । वडाका विभिन्न बस्तीहरु जोड्न र वडा क्षेत्र बाहिर आउजाउमा सहजता दिन यी सडक निर्माण भएका हुन् ।

मुसिकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष धनबहादुर खड्काले हालै वडाको नमूनाबस्ती देखि भेरीखोलासम्म नयाँ सडकको ट्रयाक खोलिएको जानकारी दिनुभयो । यो सडक खुलेसँगै वडा भित्र पाँच वडा सडक बनेको उहाँको भनाइ छ । 

दुई हजार सात सय मिटर लामो यो सडकले वडाको नमूनाबस्तीबाट संगिनीगैरा, डेलडाँडा, भेरीखोला हुँदै तल्लोचौर जोड्ने छ । वडा अध्यक्ष खड्का अनुसार पूर्वाधार विकास कार्यालय चौरजहारीको ४० लाख लगानीमा चालु वर्षमा यो सडकको ट्रयाक खोलिएको हो । ट्रयाक खोलिएका सडकहरुको स्तरोन्नतीको लागि पहल भईरहेको उहाँले जनाउनुभयो । 

वडाको भौतिक विकास र यातायात सहजताको लागि सडक निर्माण महत्वपूर्ण पूर्वाधार भएको उहाँले उल्लेख गर्नुभयो । 

वडा कार्यालयका अनुसार यसअघि वडामा मौराबारी बैरामुल सडक, डाँडा साउनेपानी कामी बुढा पार्क चौर टिला सडक र ठाँटीबोट माथिल्लो गलम्पाटी ठुला पोखरा सडक खोलिएको छ । 

Musikot-10-sadak-(2)-1770206204.jpgपाँच नाकाबाट जोडियो सडक 

वडा अध्यक्ष खड्काका अनुसार वडा भित्र प्रवेश गर्ने विभिन्न पाँच नाकाबाट सडक खोलिएको छ । रोल्पाको परिवर्तन गाउँपालिकाको वडा नम्वर ४ को हलहले र तल्लोटिलाबाट वडा जोड्ने अलग अलग सडक निर्माण गरिएको छ भने रुकुम पूर्वको भूमे गाउँपालिका ९ को माथिल्लो टिलाबाट पनि सडक जोडिएको छ ।

त्यसैगरी मुसिकोट नगरपालिकाको शिलतपोखरी झुल्खेत हुँदै चुन जाने सडक र होल हुँदै कामी बुढा पार्क जाने सडक पनि यस अघि निर्माण गरिएको छ । यी सडकहरुले वडा सञ्जाल जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

भौगोलिक हिसाबले मुसिकोटको विकट वडा मानिने यो वडा चारैतिरबाट सडक सञ्जालमा जोडिएपछि स्थानीयवासी खुसी भएका छन् । उनीहरुले अब बाह्रै महिना गाडि गुड्ने गरी स्तरोन्नती गर्न समेत माग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्