नेभिगेशन
समाज
निर्वाचन सुरक्षा योजना

सिम्लीमा सशस्त्रको बेस क्याम्प, चौरजहारी र आठबिसकोटमा नेपाली सेना

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आज देखि देशभर चारवटै सुरक्षा निकाय परिचालित भएका छन् । 

रुकुम पश्चिममा पनि निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सानीभेरी गाउँपालिकाको सिम्लीमा आज सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएको छ। 

सशस्त्र प्रहरी नायब उपरीक्षक जगदीश चन्द्र हमालका अनुसार सिम्लीमा सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरिएको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक उत्तम बस्नेतको कमाण्डमा २४ जनाको टोलि अहिले उक्त क्याम्पमा रहनेछ भने निर्वाचन प्रहरी तालिमपश्चात थप ११ जनाको जनशक्ति थपिनेछ। 

आजै चौरजहारी विमानस्थलमा परिसर र आठबिसकोटको सिमबजारमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । नेपाली सेनाको चण्डी दल गणबाट उक्त टोली परिचालन भएको हो । 

चौरजहारीमा मेजर र आठबिसकोटमा क्याप्टेनको कमान्डमा नेपाली सेना परिचालन भएको हो ।

निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित भएका हुन् ।

एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि तालिम पश्चात निर्वाचन सुरक्षामा खटिइनेछन्।

नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन्। दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ।

नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्