नेभिगेशन
राष्ट्रिय

आज चार प्रदेशका केहि स्थानमा ठूलो पानी पर्ने सम्भावना

आज चार वटा प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभरको मौसम आज दिनभर नै साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही ठाउँमा र तराइको थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि आज केही बढ्ने देखिन्छ । गएराति र हिजो बेलुका काठमाण्डौ उपत्यकासहितका केही ठाउँमा ठूलो पानी परेको थियो ।

आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा र बाँकी भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भागका एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना छ । आज मध्यम तथा ठूलो पानी पर्न सक्ने आँकलन गरिएका क्षेत्रको नदी तटिय तथा होचा भागमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्