नेभिगेशन
समाज

माथिल्लो चौरको पहिरोले मुसिकोट १० का चार घरमा क्षति, आठ घर उच्च जोखिममा

लगातारको वर्षाको कारण आएको पहिरोले रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० मा चार घर भत्किएका छन् भने आठ घर उच्च जोखिममा रहेका छन् । 

मुसिकोट नगरपालिका १० का वडा अध्यक्ष धनबहादुर खड्काले शुक्रबार बिहान तल्लो चौर टोलका गणेश ओली, उमेश ओली, शेरबहादुर ओली र लालबहादुर ओलीको घर भत्किएको जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो चौरबाट झरेको पहिरोको कारण तल्लो चौरमा रहेका घरमा क्षति गरेको हो । 

वडा अध्यक्ष खड्काले गणेशको घरमा रहेका तीन बाख्रा र एक खसी, खाद्यन्न, लत्ताकपडा लगायतका सामान घरसँगै पहिरोले पुरेको तर मानवीय क्षति नभएको जनाउनुभयो । माथिल्लो चौरको धेरै भूभाग धाँजा फाटेको हुनाले अझै पहिरोको जोखिम रहेको छ । त्यस ठाउँका आठ वटा घर उच्च जोखिममा रहेका छन् । 

स्थानीयलाई सुरक्षित स्थानतर्फ बस्न सचेत गराईएको वडा कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

पानीमा डुबेर तीन दिदीबहिनीको मृत्यू