नेभिगेशन
समाज

विपदको जोखिममा रुकुमका ११ हजार घरधुरी र ६० हजार जनसङख्या

रुकुम पश्चिमका ११ हजार बढी घरधुरी विपदको जोखिममा रहेका छन् । जिल्लाका छ वटा पालिकाका ११ हजार २२९ घरधुरी र ५९ हजार ९७४ जनसङख्या भूकम्प, बाढीपहिरो, आगलागी, चट्याङ जस्ता विपदको जोखिममा रहेका हुन् । 

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुको सिफारिस तथा समन्वयमा तयार पारेको विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८२ मा उक्त विवरण समावेश गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीका अनुसार प्रतिकार्य योजनामा विपदको जोखिममा रहेका वडा र टोल, घरधुरी, जनसङख्या, यसअघि भएको क्षतिको विवरणसहित क्षेत्रगत कार्ययोजना र जिम्मेवारी विभाजन गरिएको छ ।

भौगोलिक बनावट तथा अव्यवस्थित भौतिक निर्माणका क्रियाकलापहरुको कारण जिल्ला विपदको जोखिममा रहेको प्रजिअ जिसीले उल्लेख गर्नुभयो । 
प्रतिकार्य योजनामा जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकाको १४ वटै वडाका ८४ घरधुरी र ७४० जनसङख्या भूकम्प, बाढीपहिरो, आगलागी,चट्याङ लगायतका विपदजन्य घटनाको जोखिममा रहेको उल्लेख छ ।

त्यसैगरी चौरजहारी नगरपालिका भित्रका ८४० घरधुरी र तीन हजार ७७० जनसङख्या जोखिममा रहेका छन् । आठबिसकोट नगरपालिकाका १४ वटै वडामा दुई हजार २२१ घरधुरी र नौ हजार १२५ जनसङख्या जोखिममा रहेका छन् भने एक हजार ८०७ रोपनी जग्गा जमिनमा क्षति भएको जनाईएको छ । 

बाँफिकोट गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको विवरण अनुसार यहाँका १० वटा वडा मध्य वडा नम्वर ७ बाहेक ८८५ घरधुरी र दुई हजार ४६९ जनसङख्या भूकम्प, बाढीपहिरो, आगलागी, चट्याङ लगायतको विपदको जोखिममा रहेका छन् । यहाँको करिब छ हजार ६८९ रोपनी जग्गा जमिनमा समेत क्षति हुने गरेको छ ।

सानीभेरी गाउँपालिकाको ११ वडाका दुई हजार १८० घरधुरी र २० हजार ३५० जनसङख्या जोखिममा रहेका छन् । गाउँपालिकाले वडाका सबै बस्तीहरु र १० हजार पाँच सय वर्गमिटर जग्गा जोखिममा रहेको जनाएको छ । 

त्यसैगरी त्रिवेणी गाउँपालिकाका १० वडामा पाँच हजार १९ घरधुरी र २३ हजार ५२० जनसङख्या जोखिममा रहेको उल्लेख गरएिको छ भने यहाँको सात हजार ४२५ रोपनी जग्गा जमिन क्षतिको जोखिममा रहेको प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । गाउँपालिकाले वडाका सबै बस्ती जोखिममा रहेको जनाएका छ । 

आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले रुकुम पश्चिम भूकम्प, बाढीपहिरो, महामारी, आगलागी, हुरिबतास तथा हिमपात जस्ता प्रमुख प्रकोपहरुको मारमा रहेको जनाउनुभयो ।

सानीभेरी, ठुलीभेरी र अन्य खोला किनारका बस्ती र जग्गा, भिरोलो जमिनमा रहेका बस्तीहरु, कमजोर भूगोल लगायतका कारण जोखिम रहेको उहाँको भनाइ छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज