नेभिगेशन
समाज

मध्यरातमा हतियारसहित घेत्मा स्वास्थ्य चौकीमा वितण्डा मच्चाउने मल्ल प्रहरीको फन्दामा

गत सोमबार राती ११ बजे । आठबिसकोट नगरपालिका १४ स्थित घेत्मा स्वास्थ्य चौकीमा एक महिलाको प्रसुती गराउने कामको लागि स्वास्थ्यकर्मीको टोली तल्लिन थियो । रातीपख नै मदिराले लठ्ठ भएका एक युवा स्वास्थ्य चौकी भित्र होहल्ला गर्दै छिरे । 

हातमा ठुलो खुँडा (हतियार) थियो, मुखमा तारान्तार अश्लिल र अपशब्द । हतियार बोकेका उनले स्वास्थ्य चौकीको प्रवेशद्वार फोडेर भित्र पसे । उनले आकस्मिक अवस्थामा प्रयोग गर्नको लागि स्वास्थ्य चौकी परिसरमा राखेको गाडीमा तोडफोड गरे, परिसरमा रहेको टेन्ट, कुर्सी लगायतमा हतियार प्रहार गरे, क्षति भयो । 

घटनाबारेमा जानकारी दिनुहुँदै स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक देवबहादुर चन्द भन्नुभयो, ‘रातीको बेला वितन्डा मच्चाईरहेका उनलाई रोक्न खोज्दा स्वास्थ्यकर्मीमाथी नै हातपात गरे, उनले अश्लिल शब्द बोले, गाली बर्षाए ।’ जबरजस्ती प्रसूति कक्षमा प्रवेश गर्न खोज्दा रोक्ने प्रयास गरेका स्वास्थ्य चौकीका महिला कर्मचारीमाथि समेत हातपात भएको बताईएको छ । 

गेट फोडेर हतियार उचाल्दै भित्र पसेको, सरसामानमा क्षति गरेको सबै भिडियो मै देख्न सकिने चन्दले जनाउनुभयो । धारिलो हतियार बोकेका युवा मदिरामा लठ्ठिएर आउँदा अस्पतालको वातावरण नै खल्बलिन पुगेको छ । जनस्वास्थ्य निरीक्षक चन्दले स्वास्थ्यकर्मीसँगै बिरामीहरुले समेत त्रासमा बस्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । 

स्वास्थ्य चौकीजस्तो संवेदनशील क्षेत्रमा मदिरा सेवन गरेर हतियारसहित वितन्डा मच्चाउने ती युवा अहिले प्रहरीको फन्दामा परेका छन् । उक्त घटनामा संलग्न सोहि वडाको ज्यामिरकोट निवासी २४ वर्षीय तिलक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार घटनाबारे जानकारी भएपछि मंगलबार मल्ललाई पक्राउ गरिएको छ । मल्ललाई घरबाटै नियन्त्रणमा लिईएको हो । 
उनी बिरुद्ध ‘अपराधिक उपद्रव’ शिर्षक अन्तर्गत मुद्धा दर्ता गरिएको छ । प्रहरी निरीक्षक पुनले घटना अनुसन्धानको लागि पहिलोपटक पाँच दिनको म्याद थप भएको जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज