नेभिगेशन
समाज

राष्ट्रपति महिला उत्थान कार्यक्रम, दुर्गमका विपन्नका लागि 'जीवनदान'

दुर्गम तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका विपन्न गर्भवती तथा सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम जीवनदान नै साबित भएको बताइएको छ । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालन गरिरहेको यो कार्यक्रममार्फत गरिने हवाई उद्धार वरदान सरह बनेको छ । 

आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले यो कार्यक्रम सफल र प्रभावकारी भएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षमा आठबिसकोट नगरपालिका क्षेत्रमा आठ पटक हेलिकोप्टर माग गरेर जोखिममा रहेका महिलाको ज्यान जोगिएको बताउनुभयो ।

जिल्लाको दुर्गम स्थानमा रहेका स्वास्थ्य चौकीमा आएका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य गम्भीर भएमा उनीहरूको ज्यान जोगाउन हवाई उद्धार गरेर सुविधासम्पन्न अस्पतालमा लैजानुको विकल्प नरहेको उहाँको भनाइ छ । यस्तो अवस्थामा विपन्न अवस्थाका उनीहरूलाई सरकारले नै उक्त सुविधा दिएकाले राष्ट्रपति महिला उत्थान जीवनदान नै बनेको नगरप्रमुख केसीले उल्लेख गर्नुभयो । केही वडामा सहज सडक सुविधा नहुँदा हवाई उद्धार गर्नैपर्ने बाध्यता रहेको छ । 

जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले सुविधासम्पन्न प्रसूति सेवाको अभावमा हुने अकाल मृत्युबाट गर्भवती तथा सुत्केरी महिला तथा नवजात शिशुको ज्यान बचाउने कार्यमा यो कार्यक्रम सफल भएको बताउनुभयो ।

उहाँले नियमित यातायात सेवा नपुगेका दुर्गम क्षेत्रका महिलाको अकालमा हुने सम्भाव्य मृत्युबाट बचाउन, महिलालाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन, नवजात शिशुलाई सुरक्षित मातृत्व सेवा उपलब्ध गराउन, महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयन गर्ने काममा राष्ट्रपति महिला उत्थान कार्यक्रमको प्रभावकारिता उच्च रहेको जनाउनुभयो । 

पछिल्ला तीन वर्षमा रुकुमपश्चिममा यो कार्यक्रमबाट १७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेर ज्यान बचाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अत्यधिक रक्तस्राव भएका, पाठेघरको नलीमा गर्भ रहेका, बेहोस अवस्थामा रहेका, श्वासप्रश्वासमा समस्या भएका, सुत्केरी हुन नसकेका लगायतका जटिल प्रसूति अवस्थाका महिलालाई उद्धार गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीका अनुसार मातृ मृत्युदर र बाल मृत्युदर घटाउने मुख्य उद्देश्य बोकेको यो कार्यक्रम रुकुमपश्चिममा पूर्ण रूपमा सफल भएको छ । प्रशासन कार्यालयको तथ्याङ्क अनुसार आव २०७९/८० मा तीन पटक, आव २०८०/८१ मा तीन पटक र आव २०८१/८२ मा नौ पटक हेलिकोप्टरमार्फत गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको उद्धार गरिएको छ । चालु आवको साउन महिनामा मात्रै दुई जना महिलाको हवाई उद्धार गरेर ज्यान बचाउन सफल भएको छ । 

जिल्ला प्रशासन कार्यालयले जोखिममा रहेका गर्भवती तथा सुत्केरीको उद्धार कार्यमा कुनै कसर बाँकी नराखेर काम गरिरहेको जनाएको छ । स्वास्थ्य संस्था, सम्बन्धित पालिकाको सिफारिससहितको कागजातको आवश्यकता पर्ने भए पनि पहिले उद्धार र त्यसपछि प्रक्रियागत कागजात भन्ने मान्यताबाट काम भइरहेकाले प्रशासनले जनाएको छ ।

यो कार्यक्रम १९ वटा जिल्लामा पूर्ण रूपमा र अन्य जिल्लामा आंशिक रूपमा गरी ४८ वटा जिल्लामा लागु भएको छ । सुविधासम्पन्न प्रसूति सेवा उपलब्ध गराउनुका साथै घर फर्कंदा यातायात खर्च र पोषण खानाका लागि नगद २० हजार रुपियाँसमेत उपलब्ध गराउने व्यवस्था रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज