नेभिगेशन
राष्ट्रिय
अन्तर्राष्ट्रिय युवा दिवस

आज अन्तर्राष्ट्रिय युवा दिवस, रुकुममा छैनन् युवा गतिविधि

आज २६ औ अन्तर्राष्ट्रिय युवा दिवस । अन्य वर्षहरु झै यस वर्ष पनि विश्वभर विविध कार्यक्रमका साथ यो दिवस मनाईदैछ । 

व्यक्ति परिवार समुदाय राष्ट्र अनि सिंगो विश्वकै विकासमा युवाहरुको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर यो दिवस मनाईन्छ । 

यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई उजागर गर्छ । यो वर्ष दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार भन्ने नाराका साथ यो दिवस मनाईदैछ । 

तर रुकुम पश्चिममा भने युवा दिवस लक्षित कुनैपनि कार्यक्रम आयोजना नभएको युवाहरुकै गुनासो रहेको छ । युवाको अवस्था, भूमिका, महत्व, परिचालन लगायतका बिषयमा गहन बहस हुनुपर्ने दिनमा जिल्लामा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नभएको गैरसरकारी संस्था महासंघ रुकुम पश्चिमका अध्यक्ष एवम् जिल्ला युवा समन्वय समितिका पूर्व जिल्ला अध्यक्ष भिमराज ओलीले बताउनुभयो ।

स्थानीय तहहरु समेतले युवाको सवालमा गम्भिर नहुने, बजेट विनियोजन नै नगर्ने गरेको उहाँको गुनासो छ । यसले युवा शक्ति पलायन भईरहेको उहाँको बुझाई रहेको छ । 

मुसिकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्काले युवा दिवसको दिन युवा लक्षित कार्यक्रम नभएको बताउनुभयो । चौरजहारी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाजंग ओलीले पनि युवा दिवस विशेष कार्यक्रम नगरपालिकास्तरमा नभएको जानकारी दिनुभयो । 

त्यसैगरी आठबिसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ईन्द्रबहादुर बिष्टले पनि नगरपालिकामा युवा दिवस लक्षित कार्यक्रम नभएको जनाउनुभयो । त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्रीले पालिकास्तरमा युवा सम्बन्धी कुनैपनि कार्यक्रम राखिएको सूचना प्राप्त नभएको उल्लेख गर्नुभयो । 

नेपाल तरुण दल रुकुम पश्चिमका अध्यक्ष लोकेन्द्र केसीले युवा लक्षित गतिविधि र बजेट व्यवस्थापन हुन नसक्दा युवा शक्ति सहि रुपमा परिचालन हुन नसकेको उल्लेख गर्नुभयो । स्थानीय युवाहरुलाई स्थानीयस्तरमै परिचालन गर्न उनीहरुको क्षमताको कदर गर्न र थप बिस्तार गर्न राज्यले लगानी गर्नुपर्ने उहाँको भनाइ छ । पालिका र जिल्ला स्तरमा युवाहरुको सवालमा बहस, पैरवी हुने मौकामा शून्य गतिविधि हुनु दुर्भाग्यपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । 

युवा दिवस र युवाहरुको सवालमा तीनै तहका सरकार जिम्मेवार हनु नसकेको वाईसियल नेपालका कर्णाली प्रदेश कमिटी अध्यक्ष लक्ष्मण ओलीले जनाउनुभयो । उहाँले संघीय, प्रदेश र स्थानीय तहले युवाका सवाललाई वेवास्ता गरिरहेको जनाउनुभयो । युवालाई स्थानीयस्तर तथा स्वदेशमै सिर्जनात्मक काममा लगाउन बहस, छलफल र लगानीको वातावरण आवश्यक रहेको ओलीले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्