नेभिगेशन
समाज

पहिराेले पानी ट्याङकी र पाईपलाईन पुरिएपछि खोलागाउँका पाँच टोलमा खानेपानीको समस्या

आकाशे पानी थापेर, खोलाको पानी बोकेर पानीको जोहो गर्दै स्थानीय

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ का पाँच वटा टोलमा चार दिनदेखि खानेपानीको समस्या सिर्जना भएको छ । यहाँका करिब १५० घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको ट्याङकी र पाईपलाईन पहिरोले क्षति गरेपछि यहाँ खानेपानीको समस्या भएको हो । 

वडा नम्वर ११ का वडा अध्यक्ष तुल्से ओलीका अनुसार गत आईतबार (साउन ११ गते) को अविरल बर्षाको कारण आएको पहिरोले वडा नम्वर १४ छिर्नेपानीस्थित मुहानमा रहेको पानीको मुख्य ट्याङकी र पाईपलाईन ध्वस्त बनाएको छ । मुहानको ट्याङकी नै भत्किएपछि र पाईपलाईनमा क्षति गरेपछि गाउँमा आउने खानेपानी बन्द रहेको उहाँले जनाउनुभयो । 

२०४६ सालमा निर्मित छिर्नेपानी-भालुखोरे-नेप्टेकाँडा खानेपानी आयोजना अन्तर्गतको उक्त योजनामा क्षति भएपछि यहाँका सर्वसाधारणहरु खोलाको पानी पीउन बाध्य भएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो । उक्त मुहानको पानी वडा नम्वर ११ का घारीटाकुरा, भालुखोरे, नेप्टेकाँडा, तलिगाउँ र माझगाउँका टोलवासीले उपयोग गर्ने गरेका थिए । 

वडा नम्वर ११ निवासी खिमबहादुर ओलीले चार दिनदेखि मुख्य मुहानबाट गाउँमा खानेपानी नआएको बताउनुभयो । उहाँका अनुसार यसको मारमा सर्वसाधारणहरु परेका छन् । अहिले टोलमा रहेको रिजर्भ पानी ट्याङकी र आकाशे पानी थापेर केहिले घरधुरीले खानेपानीको जोहो गरेका छन् भने केहिले करिब एक किलोमिटर टाढाको ठुलोखोलाबाट पानी बोकेर ल्याउन बाध्य भएका छन् ।

डलसिङ्गेमा रहेको लिफ्ट खानेपानी योजनाबाट पनि त्यस क्षेत्रका केहि घरधुरीले पानी उपयोग गरेको उहाँले जनाउनुभयो । भालुखोरे लगायतका टोलका सर्वसाधारणहरुलाई भने खानेपानीको जोहो गर्न समस्या भईरहेको उहाँको भनाई छ । 

खानेपानीको मुहानमा भएको क्षतिको आँकलन गरेर तत्काल मर्मत गर्नुपर्ने यहाँका उपभोक्ताहरुको मागर रहेको छ । रिजर्भ ट्याङकीको पानी सकिएको र अब आकाशेपानी नपरेपछि दैनिक घरायसी रुपमा उपयोग हुने पानी ल्याउन समेत गाग्री बोकेर टाढा जानुपर्ने चिन्ता उनीहरुको रहेको छ ।

बर्षायाममा खोलाको धमिलो पानी पीउन बाध्य हुँदा सम्भावित रोगहरुको समेत खतरा रहेको उनीहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज