नेभिगेशन
समाज

ठूलीभेरीमा खसेका तीन जनाको अवस्था तीन दिनसम्म अज्ञात

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ स्थित ठूलीभेरी नदीमा गत मङ्गलवार बेलुका टिपर खस्दा बेपत्ता भएका तीन जनाको अवस्था तेस्रो दिन बित्दा पनि अज्ञात रहेको छ । दुर्घटनामा परेका उनीहरूको खोजी कार्य जारी रहे पनि हालसम्म फेला पर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार बेपत्ता हुनेमा टिपर चालक दाङका ३५ वर्षीय मणिराम चौधरी, रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ का धनवीर बिक र रुकुम पूर्व सिस्ने गाउँपालिका–८ का २१ वर्षीय हरि विक रहेका छन् ।

मङ्गलवार बेलुका आठबिसकोट नगरपालिका–१४, पिपल चौरस्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्डमा उक्त दुर्घटना भएको हो । चिसापानीबाट छेपारेतर्फ जाँदै गरेको यत्ति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल भेरी नदीमा खसेको थियो ।

प्रहरी र स्थानीयवासीले खोजी कार्यलाई तीव्रता दिएका छन् । घटनाको भोलिपल्ट बुधबार दुर्घटनास्थलबाट करिब डेढ किलोमिटर तल आठबिसकोट–१४ छेपारेमा टिपरको अगाडिको क्याबिनको भाग फेला परेको थियो । 

टिपरमा सवार तीनै जनाको अवस्था भने अज्ञात नै रहेको प्रहरी निरीक्षक पुनले बताउनुभयो । नदीमा पानीको बहाव बढी भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।  बेपत्ताहरूको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको र प्रयास जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज