नेभिगेशन
समाज

रुकुम पश्चिममा करिब चार हजार सवारी कारबाहीमा, ३५ लाख ४८ हजार जरिवाना

जिल्लामा पहिलो पटक ‘ई–चलान’ मार्फत कारबाही

जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले गत आर्थिक वर्ष ०८१/०८२ मा ३५ लाख ४८ हजार रुपियाँ राजश्व बराबरको ट्राफिक कारबाही गरेको जनाएको छ । २०८१ को साउन १ गते देखि २०८२ को असार मसान्तसम्म तीन हजार ९२९ ट्राफिक कारबाहीबाट उक्त राजश्व काटिएको हो । 

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक शैलेन्द्र कुमार मल्लका अनुसार कारबाही गरिएका मध्य तीन हजार ७२३ सवारी साधनबाट ३३ लाख ५९ हजार रुपियाँ राजश्व जम्मा गरिसकिएको छ । जरिवानाको चिट काटिएका केहिले राजश्व दाखिला गर्न ढिलाई गरेका छन् । 

अनुमति बिनै सञ्चालन भएका, ट्राफिक नियमको पालना नगरेका, लाईसेन्स तथा आवश्यक कागज प्रमाण नरहेका, मादकपदार्थ सेवन गरेर सवारी साधन चलाएका लगायतका सवारी चालक कारबाहिमा परेका हुन् । ट्राफिक प्रमुख मल्लका अनुसार गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका १८६ जनाबाट मात्र एक लाख दुई हजार रुपियाँ राजश्व संकलन गरिएको छ । 

पहिलो पटक ‘ई–चलान’ मार्फत कारबाही

त्यसैगरी जिल्लामा पहिलो पटक ‘ई–चलान’ मार्फत कारबाहीको राजश्व संकलन सुरु गरिएको छ । कार्यालय प्रमुख मल्लले ‘ई–चलान’ मार्फत ३० वटा सवारीमा भएको कारबाहिबाट २९ हजार रुपियाँ राजश्व संकलन भएको जनाउनुभयो ।

मोबाईलमा रहेको नागरिक एपमा ‘ई–चलान’ को चिट अपलोड गरिदिने र सवारी चालक वा धनीले नियामानुसारको राजश्व जम्मा गर्नुपर्ने प्रावधान जिल्लामा कार्यान्वय गरिएको ट्राफिक प्रमुख मल्लले जानकारी दिनुभयो । 

एक वर्षमा १३५ दुर्घटना, १३ को मृत्यु

ट्राफिक कार्यालयको तथ्याङक अनुसार गत वर्ष जिल्लामा १३५ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनाबाट १३ जनाको मृत्यु भएको छ भने २१७ जना घाईते भएका छन् ।

तिब्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, भौगोलिक कठिनाई, सवारी उपकरणको समस्या लगायको कारण दुर्घटना हुने गरेका छन् । 

सचेतनामुलक कार्यक्रम नियमित

यस अवधिमा कार्यालयले ट्राफिक सचेतनाका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरेको जनाएको छ । सवारी चालक, विद्यार्थी, समुदायस्रतमा पुगेर ७२४ पटक ट्राफिक सचेतनाका कार्यक्रम गरिएको कार्यालय प्रमुख मल्लले जनाउनुभयो । जसबाट ५० हजार ७९ जना लाभान्वित भएको बताईएको छ । 

कार्यालयले मुसिकोट नगरपालिकाको सहयोगमा जिल्लाका विभिन्न आठ वटा स्थानमा ट्राफिक सचेतनाका होडिङग बोर्ड राखेको छ । यसका साथै जथाभावि पार्किङ गरिका सवारी साधनहरुमा ‘ह्विल लक’ लगाउने र जरिवाना गर्ने कार्य समेत भईरहेको छ । 

पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा सवारी दुर्घटना हुने क्रम भने बढेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज