नेभिगेशन
समाज

चौरजहारी घटना : नाबालकहरुलाई राज्यकोषबाट सात लाख क्षतीपूर्ती दिन र चन्द्रबहादुरलाई कारागार पठाउन आदेश

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ टाटागाउँमा भएको घटनाबाट पीडित बालबालिकाहरुलाई क्षतीपूर्ती दिन आदेश गरिएको छ । 

मङगलबार रुकुम अदालतमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट भएको अभियोग माग दाबीपछि जिल्ला न्यायाधीस रामप्रसाद बस्यालले आमाको हत्या भएको र बुवा प्रहरी नियन्त्रणमा रहेकोले उनीहरुको क्षतीपूर्ती तथा राहतको लागि राज्यकोषबाट सात लाख रकम उपलब्ध गराउन आदेश गर्नुभएको हो । 

गत असार १७ गते राती टाटागाउँका चन्द्रबहादुर बुढाले आफ्नै श्रीमती देविका बुढाथोकीलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । हत्यापछि उनीहरुको दुई छोरीहरु (१३ वर्षीया रेजिना र ११ वर्षीया पुर्णिमा)  र ६ वर्षका एक छोरा रुपेश बिचल्लीमा परेका छन् । 

देवीकाको घाँटी रेटी, दुबै हात काटी र शरिरका अन्य भागमा समेत आक्रमण गरेर क्रुरतापूर्वक हत्या गरिएको र उनीहरुका तीन नाबालक सन्तान सहाराबिहिन अवस्थामा रहेकोले जिल्ला न्यायाधिवक्ता हरि प्रसाद घिमिरेले उनीहरुको रेखदेख, लालनपालन र संरक्षणका लागि अन्तरिम क्षतीपूर्ती तथा राहतको लागि अदालतमा माग दाबी गर्नुभएको थियो । 

जिल्ला न्याधिवक्ता घिमिरेले आश्रित नाबालकहरुको क्षतीपूर्ती स्वरुप राहत उपलब्ध गराउने प्रयोजनका लागि अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा २९ बमोजिम अन्तरिम क्षतीपूर्तीको लागि आदेश माग गरिएकोमा अदालतबाट सात लाख रुपियाँ दिन आदेश भएको जानकारी दिनुभयो । 

उक्त रकम सिधै नेपाल सरकारबाट व्ययभार हुनेगरी पीडित राहत कोषबाट उपलब्ध गराउन आदेश भएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाहीले जानकारी दिनुभयो । 

यसका साथै प्रतिवादी चन्द्रबहादुर बुढालाई जीवित रहेसम्म कैद सजाय हुनेगरी माग दाबी गरिएकोमा हाललाई अर्को आदेश नभएसम्मको लागि पूर्पक्षको लागि कारागार चलान गर्ने आदेश भएको जिल्ला न्याधिवक्ता घिमिरेले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्