नेभिगेशन
समसामयीक
कथा

सुसाइड नोट : सत्य कथा

२०७९ सालको मध्यतिर ।

म एउटा शैक्षिक परीक्षाको तयारीका लागि दाङमा थिएँ । तुलसिपुर बसपार्कस्थित रविगङ्गा होटेलमा बसाइ थियो । भोलिपल्ट बिहान ७ बजे माध्यमिक विद्यालय नारायणपुरमा परीक्षा दिनु थियो ।

जब पर्यो राती तब बुढी तात्तिई भनेझैँ त्यो साँझ मलाई किताब नै निलिदिम जस्तो भएको थियो । होटेल मालिक गङ्गालाल दाइले - "आज खाना नखाने भाइ ?" भनेपछि म झस्केँ । मोबाइल कोठामै छोडेर तल खाना खान झरेँ । मोबाइल छोडेर पनि के भन्नु बिर्सेर भनम न । मोबाइल त एकछिन छोड्न सक्ने भए पो ।

खाना खाइवरी कोठा फर्के । कितावमा भन्दा पहिले हात मोबाइलमा गयो । चोर औँलो अघि बढेर फेसबुक थिच्यो । एउटा नोटिफिकेस थियो । बुढी औँलो अघि बढेर म्यासेन्जर खोल्यो 'Soniya Portel' नामको एकाउन्टबाट ७/८ चोटी कल आएको रहेछ । Portel भनेपछि भारतीय मूलको मधेसी दलित वा भारतीय नागरिक होला कोही भन्ने लक काँटे ।

यसै त म महिलामैत्री मान्छे त्यसमा पनि पटकपटक कल आएपछि प्रोफाइल नहेरी भएन । देखेँ, सुर्खेतका पत्रकार आदरणीय गणेशकन्चन भारती सर मात्र म्युचअल फ्राइन्ड हुनुहुँदो रहेछ । राम्ररी प्रोफाइल कोट्याई नसक्दै फेरि भिडियो कल आइहाल्यो ।

झ्याप्पै कल उठाएँ । २०-२२ बर्षकी जवान महिला । स्वर्गकी परी जस्ती परमसुन्दरी, हलिउडकी नायिकाको गोरो अनुहार, ऐस्वर्या राईका जस्ता आँखा, दीपिका पादुकोणको जस्तो नाक, कटिना कैफका जस्तो कपाल, प्रीयङ्का चोपडाको जस्तो मुस्कान.....। सारमा बलिउडकी कुनै नायिका जस्ती थिइन् तीँ । म मक्खै ।

त्यसपछि ? त्यसपछि उनले बिस्तारै शरीरवाट आफ्नो टिसर्ट उतारिन, पाइन्ट खोलिन, क्रमश: माथि र तलका भित्री बस्त्र पनि खोलेर सर्बाङ नाङ्गो भइन् । म त हेरेको हेर्यै । ट्वाङ म्यासेज आयो । कल त काट्ने कुरो भएन  ब्याक गरेर म्यासेज हेरेँ । लेखिएको थियो - "आपका भी देखाओ न ।"

हैट ! मेरो त सातोपुत्लो उड्यो । यस्ता त ह्याकर पो हुन्छन् । यस्ता त हनी ट्यापर पो हुन्छन् । यस्ता त साइबर अपराधी पो हुन्छन् । हतारमा कल काटेँ । मोबाइलले प्रमाणित गर्यो मैले ३ मिनेट ४२ सेकेन्ड ती Soniya Portel मैयाको चर्तीकला हेरेको रहेछु ।

तत्काल फेरि कल आइहाल्यो । तत्काल काटेँ । फेरि आयो, फेरि काटेँ । अर्कोपटक पनि आयो । यसपटकपटक मैले कल काटिन ब्लक ठोकिदिएँ । त्यसपछि वाटसएपमा म्यासेजको ओइरो आउन थाल्यो । भारतीय वाट्सएप नम्बरबाट आएको म्यासेजमा लेखिएको थियो - "कि २५ हजार पैसा राखिदे नत्र तेरा आफन्त र साथीहरूलाई यो भिडियो पठादिन्छु ।" बस् आएन त नचिनेको मान्छेसित भिडियो कल गरेको मजा । पर्यो फर्साद ।

अघिसम्म छुट्टै रसायन रिलिज भएको शरीरबाट तुरुक्कै पिसाब आउला जस्तो हुनथाल्यो । लामो सुस्केरा हालेँ । मुटु छामेँ । मुटुले यस्ता रन्डाका छातीमा के बस्नु भनेर बाहिरै निक्लेला जसरी बेगवान गतिमा ढुकढुक- ढुकढुक गरिरहेको थियो । कान समातेर थचक्क भुइँमा बसेँ । कान दोस्रोपल्ट त्यसरी तात्तिएका थिए । जसरी सानोछँदा पहिलोपल्ट मैदानको मेलामा दुई सय रुपैयाँ ख्वारख्वारेमा हारेको बेला तात्तिएका थिए ।

फेरि वाट्सएप खोलेर हेरेँ । थप धम्की र मेरो छिट्टै सार्वजनिक हुनेवाला फिल्मको डेमो भिडियो आइसकेको रहेछ । कन्सिरी बेस्सरी तात्तिए । "आप जे सक्था हे करो, हाम भि डरनेवाला नहीँ हे" भनेर वाट्सएमा पनि ब्लक ठोकिदिएँ । मलाई सार्है छटपटाह भयो । उसले कसैलाई भिडियो राखिदिएर फेसबुकमा भिडियोको टेलर आइसक्यो कि भनेर हेरेँ । त्यतिन्जेल कतै सार्बजनिक भएको रहेन्छ ।

सोचेँ, जिन्दगीमा आजसम्म कमाउन खोजेको र सकेको यही धेरथोर इज्जत त हो । आँखाबाट अश्रुभेल सुरु भयो । बेचैनी भयो मन र दिमाग । लाचार भएर मस्तिष्कले मनलाई सोध्यो - "अब के गर्छस त गणेश ?" तत्काल मनले जवाफ दियो - "यता भिडियो आउँछ, म उता जान्छु । अर्थात मनले मर्ने योजना बनायो । मस्तिष्कले सही थापेर ठिकै हो भन्यो ।

मन र मस्तिष्कको बैठकले एउटा निर्णय सार्वजनिक गर्यो । होटेलको छतमा गएर बस्ने, भिडियो सार्बजनिक हुनेबित्तिकै हाम फालेर आत्मदाह गर्ने । जिन्दगीलाई यहीँनेर पूर्णविराम लगाउने अर्थात मर्ने । .......नजर हातको नाडीमा पर्‍यो ।

घडीमा घण्टा सुई तीनको नजिक र मिनेट सुई बाह्रको नजिक पुगेका रहेछन् । रातीको ३ बज्नै लागेको थियो । लाचार शरीर र भड्किएको मन लिएर म बिस्तारै होटेलको छतमा उक्लिएँ । अघिसम्म जिन्दगी बनाउन पढ्न बसेको म अब त्यही जिन्दगी सकाउन मर्नका लागि छतमा उक्लिदैँ थिएँ । आफ्ना भावआवेश नियन्त्रण गर्न नसक्दा जिन्दगी कसरी भड्कालोमा पर्छभन्ने राम्ररी बुझियो । नचिनेका मान्छेलाई फेसबुक साथी बनाउँदा के हुन्छ भनेर राम्ररी भोगियो । बुझेर पनि के गर्नु अब । भोगेर पनि के गर्नु अब । "..............दैलो पनि देखेँ ।" भनेझै भएको थियो ।

दिनभरिको थकानले होला, तुलसीपुर बजार मस्त निद्रामा थियो । मलाई पनि निदाउनु थियो केहीबेरमा यसैगरी, जानुथियो चीर निद्रामा कहिल्यै नफर्किने गरी । छतबाट हाम फालेर घाइते मात्र भएर बाँचियो भने ? त्यो त झन बाँच्नु होइन मर्नु हो । मोबाइलको टर्च बालेर नबाँच्ने खालको ठाउँ हेरेँ । पछाडि पट्टीको नालिमा पर्नेगरी हाम फालेमा योजना सफल हुन्छ जस्तो लाग्यो । अब सबै तयारी पुगिसकेको थियो । मात्र आवश्यकता थियो उचित लगन । 'भिडियो आवान हाम फालान'को कार्यनीति तय भयो ।

कसैलाई भिडियो हालिसक्यो कि भनेर फेसबुक खोलेँ । केही आत्तोपत्तो रहेन्छ । बरु अंकलको छोरा लोकेन्द्र दाइले - "के छ भाइ,  पढाइ दरो छ कि, अहिलेसम्म अनलाइन छ्स् त" भनेर म्यासेज गर्नुभएको रहेछ । एक मनले भन्यो - "एकछिन पछि मरिहाल्छु के बोल्नु ।"

उहाँ त्यतिबेला नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो र शान्ति मिसनका लागि कङ्गो जानुभएको थियो । सायद त्यहाँ दिउँसो थियो होला र च्याट गर्नुभएको थियो होला । फेरि अर्को मनले भन्यो कसै न कसैलाई त म मर्नुको कारण थाहा हुनुपर्यो नि । मैले लोकेन्द्र दाइलाई सबै बेलिबिस्तार सुनाएँ ।

उहाँ मजाले हाँसेर यो सामान्य कुरा भएको, भारतका स्कुले केटिहरूले खर्च जुटाउन यस्तो खेलो गर्ने गरेको र आफ्ना थुप्रै साथीहरू यसको शिकार भएका, पैसा दिए फेरिफेरि माग्ने, नदिए पनि केही गर्न नसक्ने बताउनुभयो । दाइको कुराले मेरो मनले युटर्न लियो । मैले फेरि लामो सास फेरेँ ।

यो सास, आसाको सास थियो । यो सास, साहसको सास थियो । मुटुको गति कम हुँदै गयो । अघिकै त्यही काँतर मनले भन्यो - "जे पर्ला पर्ला, गर्ने नगर्ने गरेका वापती त यही समाजमा बाँचेकै छन् ।"

मोबाइलमा घण्टी बज्यो । यो घण्टी म्यासेन्जरको थिएन । न त वाट्सएप कै थियो । यो फोन आएको घण्टी थियो । सेभ नम्बरबाट आएको फोन । 'Daai Khim Sipali' नामबाट आएको फोन । उठाएँ फोन। भनेँ हेलो । दाइले म त परीक्षाको दिन अबेलासम्म सुत्लास भनेर बिउँझाउन फोन गरेको, उठी सकेछस् राम्रो भो भन्नुभयो । 

हे हे ! उहाँलाई के थाह म उठेको होइन कि रातभर सुतेकै छैन भनेर । मेरो कुरा केही नसुनी फेरि थप्नुभयो - म राती तुलसीपुर पुगेँ, मेरो परीक्षा सेन्टर घोराही छ, नारायणपुरसम्म मलाई पनि लिन वीरेन्द्र चोकमा आइज ।"  मैले हस् भनी प्रवेशपत्र च्यापेर वीरेन्द्रचोकतिर हुँइकिएँ । अहिले सम्झिन्छु, त्यो रात छतबाट हाम फालेको भए के हुँदो हो ?  'सुसाइड नोट' लेखेको भए, के लेख्दो हुँ  ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्