नेभिगेशन
समसामयीक
गुरु पूर्णिमा

'केटोले केहि गर्छ' भन्दै प्रेरणा दिने गुरुलाई सम्झिरहेको छु !

आज गुरु पूर्णिमा, श्रद्धा, समर्पण र आत्मिक नमनको पवित्र दिन हो।

गुरु भनेका केवल कक्षाकोठामा ज्ञान दिनुहुने व्यक्ति मात्र होइनन्। उहाँहरू जीवनका प्रत्येक मोडमा उज्यालो छर्दै हाम्रा अज्ञानका अँध्यारो पखाल्ने असल मार्गनिर्देशक हुनुहुन्छ। आमा, बुबाको काखमा अक्षर चिनाउने प्रारम्भिक स्पर्शदेखि विश्वविद्यालयको कठोर कक्षामा मूल्य र विचार बुझाउने गुरुहरूसम्म  हरेक चरणमा उहाँहरू हाम्रो आत्मा छुन सक्ने उज्यालो दीप बन्नुहुन्छ।

गुरु शिष्यका लागि केवल शिक्षक नभई, सारथी, मित्र, प्रेरक र भविष्यको आधारशिला हुन्। उहाँहरूको योगदान परीक्षा पास गराउने भन्दा धेरै गहिरो हुन्छ — त्यो हृदयमा छिर्छ, सोचमा बस्छ र जीवनको दिशा परिवर्तन गर्छ।

आज म सम्झन्छु, 'केटो केही गर्छ' भनेर प्रशंसा गर्दै मुस्कुराउनुहुने गुरुआमाको बोली, पहिलो अक्षर चिनाइदिनुहुने शिक्षक/शिक्षिका, अनि हरेक मोडमा सही सल्लाह दिने मेरा आदरणीय प्राध्यापकहरूलाई। उहाँहरूको हाँसो, उहाँहरूको विश्वास र समर्पण सधैं मेरो स्मृतिमा जीवित रहनेछ।

तर विडम्बना, केहि दिन अघि एक अनलाइन समाचारमा पढें एक शिक्षिकाले आफ्ना विद्यार्थीलाई शारीरिक दण्ड दिएकी रहिछन्। त्यो समाचारले मेरो आत्मा काँपियो। गुरु त डर होइन, प्रेरणाको मूर्ति हुनु पर्छ। शिक्षा प्रेम र विश्वासमा बढ्छ  न तातो पनिउँले, न त कठोर शब्दले।

आजभोलि गुरुपूर्णिमामा केक काट्ने, फूल चढाउने र ठूलो पार्टी गर्ने होड चल्न थालेको छ। तर साँचो श्रद्धा व्यवहारमा देखिन्छ केक काट्दैमा गुरुको कृपा आउँदैन, शिष्यको बोली, आचरण र सम्मानजनक व्यवहारमै गुरु-शिष्य सम्बन्धको गहिरो बन्धन बस्छ।

गुरु कुनै बाह्य सजावट होइनन्, उहाँहरू सहनशीलताको सागर, ज्ञानको सुर्य र निस्वार्थ सेवाको मूर्ति हुनुहुन्छ। उहाँहरूको मौन तपस्या, अनुशासन र मार्गदर्शन नै विद्यार्थीको सफल भविष्यको जग हो।

कवियत्री देवी नेपालका अमूल्य शब्दहरू स्मरणीय छन् :

"आफू जलेर धर्तीमा उज्यालो गुरु छर्छन्,
आफू गलेर माटोजस्तै मूर्ति निर्माण गर्छन्।
जसको स्नेहका सामु अरूको स्नेह व्यर्थ छ,
जसको त्याग देखेर धर्ती माथि झुक्छ।"

म यस पवित्र अवसरमा, मेरो शिक्षा यात्रामा साथ दिनुहुने सम्पूर्ण गुरुहरूलाई नमन गर्दछु। उहाँहरूकै माया, प्रेरणा र आशीर्वादले म आजको म बनेको हुँ।

गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण आदरणीय गुरुजनहरूलाई सुस्वास्थ्य, शान्ति, दीर्घायु र अनन्त सम्मानको हार्दिक शुभकामना । हजुरहरूको आशीर्वाद सदा हाम्रो जीवनपथमा प्रकाश बनिरहोस्। 

(चौरजहारी नगरपालिका निवासी लेखक डाँगी बाल अधिकार अभियfन्ता तथा विद्यार्थी नेता हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्