नेभिगेशन
समाज

सहिद स्मृति नगर अस्पतालमा प्रसूति गृह उद्घाटन, सुरक्षित गर्भपतन सेवा सुरु

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १० मा रहेको सहिद स्मृति नगर अस्पतालमा प्रसूति गृह भवन उद्घाटन हुनका साथै सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । 

आईतबार नगर प्रमुख पुष्प वादीले नवनिर्मित प्रसूति गृह र सुरक्षित गर्भपतन सेवाको उद्घाटन गर्नुभएको हो । कर्णाली प्रदेश सरकारको बजेट व्यवस्थापनमा चौरजहारी नगरपालिकाले प्रसूति गृह भवन निर्माण गरेको हो । 

उक्त अवसरमा नगर प्रमुख पुष्प वादीले ग्रामीण भेगका जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन नगर सरकार लागि परेको बताउनुभयो । नगर अस्पताललाई थप व्यवस्थित बनाउँदै सेवा प्रवाहमा अब्बल बनाउन उहाँले सबैको सकारात्मक साथ सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । 

सामान्य शल्यक्रिया, सुत्केरी, एक्सरे, ल्याब सेवा, परिवार नियोजन सेवा दिदै आएको नगर अस्पतालमा अब देखि सुरक्षित गर्भपतन सेवा थप भएको अस्पतालका प्रशासन प्रमुख चुडामणी केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार गाउँमै डाक्टरसहितको अस्पताल सञ्चालन भएपछि सेवा लिने आउने बिरामीहरुको संख्या बढीरहेको छ । पछिल्लो समय दैनिक करिब दश जना बिरामीहरु भर्ना हुने गरेका छन् । 

यस अस्पतालमा रुकुम पश्चिममा साथै सल्यान जिल्लाका बिरामीहरुले बढी मात्रामा सेवा लिने गरेका छन् । भवन तथा सुरक्षित गर्भपतन सेवा उद्घाटन कार्यक्रममा नगर उप प्रमुख ईश्वरी शर्मा बिएम, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोति पोखरेल लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज