रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान सम्पर्कविहीन भएका कर्मचारी गुल्मीबाट सम्पर्कमा आएका हुन् ।
गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट हिँडेको थियो । तर, बुधबार बेलुकासम्म पटकपटक सम्पर्क गर्दा पनि फोन स्वीच अफ भएपछि कर्मचारी हराएको सूचना निकाल्न गाउँपालिका बाध्य भएको थियो ।
सबैतिर हल्लाखल्ला भएपछि बिहीबार बिहान हराएका कर्मचारी टोली सम्पर्कमा आएको थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले अनलाइनखबरलाई बताए । ‘उहाँहरु गुल्मीमा हुनुहुँदो रहेछ । आज बिहान सम्पर्कमा आउनुभयो । अब आजै जिल्ला सदरमुकाम लिबाङ आएर त्यसपछि थबाङ आउँछौँ भन्नुभएको छ,’ अध्यक्षले मगरले भने ।
आर्थिक वर्षको अन्तिममा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको थियो । ‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको थियो ।
यसरी सम्पर्कविहीन भएरै हिँड्नुपर्ने गरी आफूहरुसँग कुनै लफडा नभएको अध्यक्ष बुढाले बताए । उनकाअनुसार प्रमुख प्रशासकीय अधिकृतले २३ गते बेलुका कार्यलयबाट घर निस्कनेबेला आफूले केही समस्या छ भनेर सोध्दा बाहिर गएर काम गर्नुपर्ने भयो भनेर अनुमति मागेको बताए । ‘जहाँ बसेर काम गरेपनि काम हुनु न हो । क्लोजिङको काम राम्रोसँग सकिए जहाँबाट गरेपनि के हुन्छ र ? भनेँ । किन सम्पर्कमा आउनुभएन मैले बुझिनँ,’ उनले भने ।
‘उसोभए क्लोजिङको काम के भयो त ? समय त घर्कियो,’ भन्ने अनलाइनखबरको प्रश्नमा मगरले आफू यसबारे अनविज्ञ रहेको बताए । ‘सबै कर्मचारी उहाँहरुसँगै हुनुहुन्थ्यो । अब भयो होला भन्ने अपेक्षा गरौं,’ उनले थपे ।
प्रमुख प्रशासकीय अधिकृत भन्छन्– पछि कुरा गरौंला
कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटीपी कोड थबाङमा नचलेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको टोली रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेको थियो । तर उनीहरु गुल्मी पुगेको पाइएको छ । जहाँ रहे पनि कर्मचारीले जिम्मेवारी निर्वाह गरेको अनुमान गाउँपालिका अध्यक्ष बुढामगरको छ । यदि त्यस्तो नभए थप अनुसन्धानको विषय हुने उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर भने यसबारे बोल्न चाहेनन् । अनलाइनखबरसँग टेलिफोन सम्पर्कमा आएका उनले भने, ‘म गाडीमा छु । पछि कुरा गरौंला है ।’
रोल्पा प्रशासन भन्छ– भुक्तानीको समस्या रहेको बुझिएको छ
जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत पदमबहादुर डाँगीका अनुसार थबाङका प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीको टोली सम्पर्कविहीन भएको जानकारी सबैभन्दा पहिले जिल्ला समन्वय समितिले दिएको थियो । लगत्तै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी प्रमुखलाई खोजीमा खटिन भनेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले थबाङ गाउँपालिका र आसपासका क्षेत्रमा प्रहरीको तैनाथी बढाएको थियो ।
त्यसपछि बल्ल थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले कर्मचारीको टोली सम्पर्कविहीन भएको विज्ञप्ति सार्वजनिक गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत पदमबहादुर डाँगीले भने, ‘हामीले थबाङ गाउँपालिकाभन्दा पहिले जिल्ला समन्वय समितिबाट कर्मचारी टोली सम्पर्कविहीन भएको थाहा पायौं । त्यसपछि सोधखोज गर्दा भुक्तानीको समस्या थियो भन्ने प्रारम्भिक जानकारी छ । यसबारे विस्तृत बुझ्ने काम भइरहेको छ ।’
प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरलाई पनि टेलिफोन सम्पर्क गरेर सोध्दा ‘हामी गुल्मीबाट फर्किंदै छौं, त्यहीँ आएर सबै कुरा गरौंला’ भनेको डाँगीले जानकारी दिए ।
उनले भने, ‘उहाँहरु फर्किसकेपछि जनप्रतिनिधि र कर्मचारी टोलीलाई सँगै राखेर बुझ्छौं ।’
गाउँपालिका महासंघ भन्छ– यो गम्भीर घटना हो, बुझ्दै छौं
गाउँपालिका राष्ट्रिय महासंघले आर्थिक वर्षको अन्तिम दिन कर्मचारीहरु सम्पर्कविहीन हुनुलाई ‘गम्भिर घटना’ भनेको छ ।
महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘आर्थिक वर्षको अन्तिम दिन जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्नुपर्छ । म आफैं राति १ बजे घर फर्किएकी हुँ । तर थबाङमा कर्मचारी सम्पर्कविहीन हुनु गम्भिर घटना हो ।’
उनले यसबारे गाउँपालिका महासंघले थप ‘बुझ्ने’ बताइन् ।
‘म हिजो राति काममा व्यस्त थिएँ । त्यहीबेला थबाङका कर्मचारीहरु सम्पर्कविहीन भएको भन्ने थाहा पाएँ । अनि थबाङका गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई फोन गरें । उहाँहरुको फोन नउठेपछि सीडीओसाबलाई फोन गरें । सीडीओसाबले कर्मचारीहरु गुल्मीबाट सम्पर्कमा आएको जानकारी गराएपछि सुरक्षित रहेछन् भनेर ढुक्क भएँ । तर यो सामान्य कुरा होइन । महासंघले यसबारे विस्तृतमा बुझ्ने छ ।’
स्थानीय भन्छन्– शंकास्पद
यसरी कर्मचारी सम्पर्कविहीन हुनुलाई स्थानीयले शंकास्पद मानेका छन् ।
थबाङ गाउँपालिका वडा नम्बर २ का पूर्ववडाध्यक्ष समेत रहेका बसन्त रोकामगरले ठेक्कापट्टामा ‘बार्गेनिङ’ नमिलेपछि कर्मचारीको टोली नै सम्पर्कमा नआएको भन्दै उनीहरुविरुद्ध मुद्दा हाल्ने बताए ।
‘क्लोजिङको समय थियो । राति दुई–तीन बजेसम्म पनि बसेर ठेकेदारलाई भुक्तानी दिइएको भन्ने छ । यही अवस्थामा उहाँहरु बार्गेनिङको लागि भाग्नुभयो भन्ने हामीले बुझेका छौं । अब स्थानीय सबै मिलेर मुद्दा हाल्छौं,’ उनले भने । -अनलाइनखबरबाट