नेभिगेशन
समाज

तीन दिनदेखि विद्यालयबाटै तीन विद्यार्थी बेपत्ता

बाँकेको कोहलपुर नगरपालिका –३ स्थित कोहलपुर बागेश्वरी इङ्ग्लिस मिडियम स्कूलमा अध्ययनरत तीन जना विद्यार्थी विद्यालयबाटै हराएका छन् । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का असार २२ गते अपरान्हदेखि विद्यालयबाट सम्पर्कबिहीन भएको खबर आएको बताउनुभयो । 

उहाँले प्रहरीलाई जानकारी हुने बित्तिकै बालकको खोजी कार्य सुरु गरिएको जनाउँदै आफन्त र विद्यालयका अन्य बालकबाट प्राप्त केही सूचनाबाट उनीहरु भारत गएको आशंका गरिएको बताउनुभयो । 

‘तीन जनामध्ये एक जनाले प्रयोग गर्ने मोबाइलमा भारतीय सिमकार्ड प्रयोग भएको देखिन्छ । अरु दुई जनाको फेसबुक पनि सक्रिय अवस्थामा पाइयो’ प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो । 

उहाँँले भारतमा पनि आफन्तहरुको माध्यमबाट खोजी गर्ने काम भइरहेको बताउनुभयो । बालकहरु हराएको तीन दिन बितिसक्दा पनि अवस्था अज्ञात रहेको गुनासो आफन्तबाट आएको छ । 

बागेश्वरी इङ्ग्लिस मिडियम स्कूलका प्रधानाध्यापक विष्णु केसीका अनुसार विद्यार्थीहरू असार २२ गते दिउँसोेसम्म स्कूलमै रहेकोमा करिब ४ः३० बजेतिर बाहिर निस्केको बताउनुभयो । 

विद्यार्थी बेपत्ता भएलगत्तै इलाका प्रहरी कार्यालय, कोहलपुरलाई जानकारी गराएर खोजी कार्य सुरु गरिएको र नेपाल प्रहरीको अनुसन्धान ब्यूरोलाई पत्राचार गरिएको  बताउनुभयो ।

विद्यार्थीहरूले पहिल्यैदेखि भाग्ने योजना बनाएको कुरा उनीहरूका साथीहरूबाट थाहा भएको प्रधानाध्यापक केसीको दावी छ । बालकहरूको अवस्था पत्ता लगाउन भारतस्थित विभिन्न निकायसँग आवश्यक समन्वय भइरहेको ईलका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । - गाेरखापत्रबाट 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज