नेभिगेशन
समाज

५ वर्ष अघिको विपदको घटनाबाट प्रभावितको लागि राहत रकम निकाशा 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पाँच वर्ष अघि भएको विपदजन्य घटनाबाट प्रभावितहरुको लागि राहत रकम निकाशा गरेको छ । 

जिल्लाका छ वटा पालिकामा रहेको स्थानीय विपद् व्यवस्थापन कोषमा दुई करोड ४५ लाख १० हजार रुपियाँ निकाशा गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी कुल बहादुर जिसीका अनुसार उक्त रकम २०७७ र २०७८ सालमा भएको मनसुनजन्य विपद् र आगलागीबाट भएको क्षतिबाट प्रभावित लाभग्राहीको लागि निकाशा भएको हो । 

मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि, २०७७ र आगलागीजन्य विपत् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान वितरण कार्यविधि, २०७८ बमोजिम प्रदेश सरकारले ३० प्रतिशत लागत बेहोर्नुपर्ने प्रावधान रहेको छ ।

सोहि प्रावधान अनुरुप गत जेठ १३ गतेको प्रदेश विपद् कार्यकारी समितिको सिफारिस र कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार उक्त रकम निकाशा गरेर जिल्लामा पठाईएको हो । 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्राप्त रकम सम्बन्धित पालिकामा पठाईसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी जिसीले प्रभावितहरुको विवरणसहित जिल्लाका छ वटै पालिकामा उक्त रकम पठाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७७ र २०७८ सालमा कुल ३५० घरपरिवारमा क्षतिको सर्वेक्षण भएको थियो । जसमध्य २०६ जनासँग अनुदानका लाग सम्झौता भई संघीय र स्थानीय सरकारबाट दिईनुपर्ने रकम उपलब्ध गराईएको थियो । प्रदेश सरकारबाट दिन बाँकि रहेको रकम यस वर्ष प्राप्त भएकोले निकाशाका लागि सम्बन्धित पालिकामा पठाईएको प्रजिअ जिसीले जनाउनुभयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार चौरजहारी नगरपालिकामा ४४, त्रिवेणी गाउँपालिकामा १९, मुसीकोट नगरपालिकामा १७, सानीभेरी गाउँपालिकामा २२, आठबिसकोट नगरपालिकामा ९६ र बाँफिकोट गाउँपालिकामा आठ जना प्रभावितका लागि दुई करोड ४५ लाख १० हजार अनुदान रकम पठाईएको छ । स्थानीय विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको उक्त रकम स्थानीय तहहरुले सम्बन्धित लागभ्राहीको खातामा उपलब्ध गराउनुपर्ने जनाईएको छ । 

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णालीका रुकुम पश्चिम, जुम्ला कालिकोट, जाजरकोट र सल्यानका प्रभावितहरुको लागि राहत तथा अनुदान रकम निकाशा गरेको हो । 

प्रभावितहरुको निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना, राहत र अनुदानका लागि सात करोड ९२ लाख ४० हजार रुपियाँ सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा पठाईएको मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तम गौतमले जानकारी दिनुभयो । 

रुकुम पश्चिममा दुई करोड ४५ लाख १० हजार, जुम्लामा दुई करोड ३२ लाख ८५ हजार, कालिकोटमा दुई करोड ७१ लाख ५० हजार, जाजरकोटमा छ लाख ९५ हजार र सल्यानमा ३६ लाख रुपियाँ निकाशा पठाईएको निमित्त प्रदेश सचिव गौतमले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज