नेभिगेशन
समाज

चौरजहारी घटना : अमेरिकाबाट सुरु भयो सहयोग पठाउने काम

गत मंगलबार राती रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ टाटागाउँमा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेपछि टुहुरा अवस्थामा रहेको तीन बालबच्चाको लागि नगद सहयोग गरिएको छ । 

चौरजहारी नगरपालिका घर भई हाल अमेरिकामा रहनुभएका पत्रकार ज्ञानु गौतमले तत्कालको लागि ४१ हजार १११ रुपियाँ सहयोग गर्नुभएको हो । गौतमले उक्त रकम पीडित बच्चाको मामाघरको हजुरबुवा मान बहादुर खत्रीको बैंक खातामा जम्मा गरिदिएको जानकारी दिनुभयो । 

गौतमले उनीहरुको पठनपाठनमा सहयोग होस् भन्ने मनसायले अहिलेलाई उक्त रकम पठाएको बताउनुभयो । आफुले राहतको लागि सानो रकम पठाएको र थप सहयोग रकम संकलन गरेर पठाउने समेत उहाँले जनाउनुभयो । 

गत मंगलबार राती ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । आमाको हत्या र बुवा प्रहरी नियन्त्रणमा रहेपछि उनका तीन बालबालिका सहाराबिहिन बनेका छन् । मृतकका १३ र ११ वर्षीया दुई छोरी र ६ वर्षका एक छोरा रहेका छन् । 

पीडित बालबालिकाहरुलाई सहयोगको लागि विभिन्न व्यक्ति तथा निकायले चासो दिईरहेको पाईएको छ । स्थानीय सरकारको समन्वयमा पीडित बालबालिकाको नाममा सयुंक्त बैंक खाता सञ्चालन गर्ने प्रक्रिया अघि पढेको र खाता सञ्चालन भएमा विभिन्न व्यक्तिहरुले सहयोग जम्मा गर्न सकिने परिवारका सदस्यहरुको भनाइ रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज