नेभिगेशन
समाज

चौरजहारी घटना : टुहुरा बालबच्चाको लागि खाद्यन्न र आर्थिक सहयोग 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ मा श्रीमानले श्रीमतीको हत्या गरेपछि टुहुरा अवस्थामा रहेका बालबच्चालाई सहयोग जुट्न थालेको छ । 

गत मंगलबार राती ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।

आमाको हत्या र बुवा प्रहरी नियन्त्रणमा रहेपछि सहाराबिहिन भनेका उनका तीन बालबच्चाको सहयोगको लागि मुसिकोट निवासी नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी राजु केसीले खाद्यन्न र नगद सहयोग उपलब्ध गराउनुभएको हो । 

उहाँले नगद २५ हजार र दश हजार ६७० रुपियाँ बराबरको खाद्यन्न सामाग्री उपलब्ध गराउनुभएको हो । 

उक्त सहयोग आज मृतकको घरमा पुगेर नेपाली कांग्रेसका क्षेत्रिय सभापति भद्रबहादुर बिष्ट, संगठन विभाग प्रमुख यदु कुमार आचार्य, चौरजहारी नगरपालिका १ नम्वर वडा सभापति यज्ञश बिष्ट, नेपाल तरुण दल चौरजहारीका अध्यक्ष मोहन भण्डारी लगायतले हस्तान्तरण गर्नुभएको हो । 

यस क्रममा सहयोगी केसीले टुहुरा अवस्थाको बालबच्चाको उच्च शिक्षा र लालन पालनकेलागि समेत सहयोग गर्ने बताउनु भएको छ । उहाँले परिवारका सदस्यहरुको सल्लाह अनुसार आफूले उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था मिलाउने जनाउनुभएको छ । मृतक बुढाथोकीका दुई छोरी र एक छोरा रहेका छन् । 

विद्यालयको तर्फबाट पनि नगद सहयोग

आजै मृतकका छोरीहरु १३ वर्षीया रेजिना बुढाथोकी र ११ वर्षीया पुर्णिमा बुढाथोकीले अध्ययन गरिरहेको चौरजहारी नगरपालिका ३ स्थित जनज्योती आधारभूत विद्यालयका तर्फबाट शिक्षकहरुले घरमै पुगेर नगद सहयोग गर्नुभएको छ । 

प्रधानाध्यापक नन्दलाल केसी लगायतको टोलीले तत्कालको लागि पाँच हजार रुपियाँ हस्तान्तरण गर्नुभएको हो । रेजिना कक्षा ७ र पुर्णिमा कक्षा ६ मा अध्ययनरत छन् । उनका भाई ६ वर्षीय रुपेश बुढाथोकी बाल बिद्या सदन स्कुलमा एलकेजी कक्षामा अध्ययनरत रहेकाछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज