नेभिगेशन
समाज
एसइई नतिजा

एसइईमा टप थ्री : शीतल माविका प्रेम, राप्ती ज्ञानोदयका निकेन र बालकल्याण माविका प्रदिप  

माध्यमिक शिक्षा परीक्षा (एसइई) को हालै प्रकाशित नतिजा अनुसार रुकुम पश्चिममा सामुदायिक तर्फका विद्यालयले उत्कृष्ट अंक प्राप्त गरेका छन् । यस वर्षको एसइई नतिजामा सामुदायिक विद्यालयका तीन जना विद्यार्थी उत्कृष्ट जिपिएसहित टप थ्रिमा परेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका अनुसार शीतल माध्यमिक विद्यालय चौरजहारीका छात्र प्रेम ओलीले ३.९५ जिपिए प्राप्त गरेका छन् । उनी यस वर्षको एसइई परीक्षामा ३.९५ जिपिए प्राप्त गर्दै रुकुम पश्चिमबाट टप बनेका छन् । प्रेमसहित यस वर्ष शीतल माविबाट ११ जनाले ३.६१ देखि ४.० जिपिए अर्थात ए प्लस प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक यदु रानाले जानकारी दिनुभयो । 

त्रिवेणी गाउँपालिका ९ घर भई राप्ती ज्ञानोदय माध्यमिक विद्यालय सिम्लीमा अध्ययनरत छात्र निकेन रावलले ३.९४ जिपिए प्राप्त गरेका छन् । यस वर्ष यो विद्यालयबाट ६ जना विद्यार्थीले ३.६१ देखि ४.० जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ । 

त्यसैगरी बालकल्याण माध्यमिक विद्यालय झुल्खेतका छात्र प्रदिप ओलीले ३.९२ जिपिए ल्याएका छन् । विद्यालय शिक्षक खडानन्द शर्माका अनुसार यस विद्यालयबाट ४ जना विद्यार्थीले ३.६१ देखि ४.० जिपिए प्राप्त गरेका छ्न् ।

एक साता अघि सार्वजनिक भएको नतिजा अनुसार देशभर यस वर्ष एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गत बर्षको तुलना भन्दा यसवर्षको नतिजामा उल्लेख्य सुधार देखियो । गत बर्ष ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । यस पटक गत वर्षभन्दा १४ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई  रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुन मगरले यो वर्ष ७४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताउनुभयो । यो प्रतिशत गत वर्षभन्दा करिब ११ प्रतिशत बढी हो ।

रुकुम पश्चिमबाट साधारण र प्राविधिकतर्फ गरी तीन हजार ४४५ विद्यार्थीले एसइई दिएका थिए । जसमध्ये ८६३ विद्यार्थी मात्रै नन ग्रेडेड भएका छन् । यसवर्ष जिल्लाभरबाट १०६ जना विद्यार्थीले ए प्लस अर्थात् ३.६१ देखि ४.० जिपिए प्राप्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्