नेभिगेशन
समाज

डाेल्पामा 'काल्पनिक' विद्यालय, इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसहित चार जनाविरुद्ध काल्पनिक विद्यालय खडा गरी सात लाख ६० हजार रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार डोल्पाको तत्कालीन दुनै गाविस वडा नं. २ र ३ को कुनै पनि बस्तीमा नरहेको विद्यालय दुर्गा प्राथमिक विद्यालय, तिप्लाको नाममा योजना पारेको तर विद्यालय भवन नबनाइ रकम अनियमितता गरेको आरोप लागेको छ। 

उहाँका अनुसार आर्थिक वर्ष २०६७/६८ मा शान्ति तथा पुननिर्माण मन्त्रालयबाट कुनै पनि रकम नआएको र भवन पनि नबनेको भन्ने व्यहोरा जिल्ला शिक्षा कार्यालय, डोल्पाबाट देखिन आएको छ।

डोल्पा ठुलीभेरी नगरपालिका वडा नं. ४ साविक दुनै गाविस वडा नं. २ र ३ मा श्री लालीगुँरास आधारभूत विद्यालय मात्रै भएको र दुर्गा प्रा. वि. को नामले हालसम्म कुनै पनि विद्यालय नभएको आयोगले  जनाएको छ। 

जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका पजियारसहित तत्कालीन लेखापाल मनिराम कुर्मि, दुर्गा प्राथमिक विद्यालयको दुई कोठे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष सङ्गीता बुढाविरुद्ध झुट्टा तथा नक्कली कागजात तयार गरी गराइ सो रकम भुक्तानी दिए लिएको पुष्टि भएको उहाँको भनाइ छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम सात लाख ६० हजार रुपियाँ कायम गरी असुल उपर हुन मागदाबी लिइएको आयोगले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्