नेभिगेशन
समाज
धान दिवस

रुकुममा धान दिवस : माछिमीमा 'हिलो खेल्दा' १ लाख ६० हजार खर्च, किसानलाई भने मलकै अभाव

असार १५ अर्थात धान दिवस । देशका विभिन्न स्थानहरुमा विशेष कार्यक्रमका साथ धान दिवस मनाउने गरिन्छ । यस अवसरमा रुकुम पश्चिममा पनि आईतबार २२ औं राष्ट्रिय धान दिवस मनाईएको छ । 

कृषि विकास कार्यालयको आयोजनामा मुसिकोट नगरपालिका ३ को माछिमीमा विविध कार्यक्रम गरी धान दिवस मनाइएको छ भने पालिका स्तरमा पनि दिवस मनाईएको छ । 

यस अवसरमा धान रोपाँई, दही चिउरा खाने कार्यक्रम, रस्साकस्सी प्रतियोगिता समेत गरिएको कृषि विकास कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख भरत बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरु, कर्मचारीहरु, किसानहरुको उपस्थितिमा धान दिवस मनाईएको हो । 

माछिमीमा मनाईएको धान दिवस कार्यक्रममा एक लाख ६० हजार रुपियाँ खर्च भएको बस्नेतले जानकारी दिनुभयो । सामान्य खालका टिसर्ट छपाई र खाजा नास्ताका उक्त रकम खर्च भएको हो । गत वर्ष जस्तो उत्कृष्ट किसान छनौट तथा पुरस्कृत कार्यक्रम यस वर्षको धान दिवसमा गरिएन । आर्थिक वर्ष ०८१/०८२ मा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार भने गणतन्त्र दिवसको अवसरमा प्रदान गरिसकेको कार्यालयले जनाएको छ । 
कार्यालयका अनुसार मुसिकोट नगरपालिका -३ निवासी नारायण खड्का, आठबिसकोट नगरपालिका -११ निवासी दिपक सार्की र मुसिकोट नगरपालिका -१३ निवासी प्रकाश खड्कालाई प्रथम, द्धितिय र तृतीय स्थानको पुरस्कार प्रदान गरिएको थियो ।

कृषि विकास कार्यालयका अनुसार असार १५ सम्म जिल्लामा ६५ प्रतिशत क्षेत्रमा धान रोपाई गरिएको छ । मध्य असारसम्म भएको धान रोपाई गत वर्षको तुलनामा ५ प्रतिशत बढी हो । कार्यालयको तथ्याङक अनुसार जिल्लाभर करिब तीन हजार ४८ हेक्टर क्षेत्रमा धान रोपाइ हुने गरेको छ भने एक लाख २९ हजार मे.ट. धान उत्पादन हुने गरेको छ । 

किसानलाई भने मलको अभाव

असार महिनालाई किसानले मानो रोपर मुरी उब्जाउने बेलाको रुपमा लिन्छन् । बीउ राख्ने देखि धान रोप्ने अवस्थासम्म भने यहाँका किसानले सहजै रासायनिक मल पाउँन नसकेको बताएका छन् । उनीहरुले पाए पनि महंगो दरमा मात्र पाउने गरेको बताएका छन् । 

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष तेजबहादुर बटालाले कतिपय किसानले मल बिनै रोपाईं गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । ग्रामीण किसानले सहजै र पर्याप्त मल पाउने अवस्था नरहेको उहाँको भनाई छ । 

सहकारी मार्फत वितरण गरिएको मल सहकारीमा आबद्ध किसान बाहेकले पाउन मुश्किल रहेको बटालाले उल्लेख गर्नुभयो । यसका लागि मल वितरण गर्न चाहने सहकारीलाई स्थानीय सरकारले अनुमति दिनुपर्ने र मल वितरणको डिपोहरु राख्न आवश्यक रहेको अध्यक्ष बटालाले जनाउनुभयो । 

मल वितरणको जिम्मा पाएको कृषि सामाग्री संस्थानले मलको मात्रा नै पुर्याउन नसकेको र साल्ट्र टे«डिङ मार्फत वितरण भएको मल गुणस्तरको नभएको भन्दै किसानहरुले गुनासो गरेको उहाँले जनाउनुभयो । 

नेपाल किसान महासंघ रुकुम पश्चिमका अध्यक्ष गणेश शर्माले पनि किसानले समयमै र सहजै मल पाउन नसकेको बताउनुभयो । हरेक वर्ष झै यस वर्ष पनि युरिया मलको अभाव रहेको उहाँले जानकारी दिनुभयो । किसानहरुको समस्याको बारेमा सरोकारवाला निकायहरु गम्भिर हुनुपर्ने अध्यक्ष शर्माको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्