नेभिगेशन
समाज

कुदुमा पहिलो पटक धान रोपाइ

जाजरकोटको भेरी नगरपालिका १३ कुदुका किसानले पहिलो पटक आफ्नो खेतमा धान रोपेका छन् ।

सिँचाइको सुविधाको अभावमा वर्षौदेखि बाँझो रहेको जमिन यसपालि हरियाली बनेको छ । एकीकृत कर्णाली सिंचाई आयोजनाको साढे पाँच करोड रुपियाँ लागतमा निर्माण भएको लिफ्ट सिंचाई आयोजना सञ्चालनमा आएसँगै स्थानीय किसानहरू उत्साहित बनेका छन् ।

सिंचाईको पहुँच नहुँदा खण्डहरजस्तो देखिने कुदुमा अहिले खेतीपाती सुरु भएको छ । भेरी नगरपालिका वडा नं १३ का लोकेन्द्र रोकायले अब वर्षामा मात्र भर पर्नु नपर्ने र सिँचाइ पुगेपछि पहिलो पटक खेतमा धान रोप्न पाएको बताउनुभयो । 

उक्त आयोजनाबाट लामितरा, रोकाय गाउँ, कुस्तरा र बटालागाउँका करिब ४ सय ८५ घरधुरीका २ हजार ३ सय ८६ जनसङ्ख्या लाभान्वित भएका छन् । आयोजनाबाट करिब ७६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको एकीकृत कर्णाली सिँचाइ आयोजनाका कार्यालय प्रमुख कृष्ण प्रसाद डुम्रकोटीले जानकारी दिनुभयो ।

वर्षौ देखि सिँचाइ र खानेपानीको अभाव खेप्दै आएका त्यस ठाउँका स्थानीय अहिले घर नजिकै खानेपानी र सिँचाइको सुविधा भएपछि भेरी नदीको दूषित पानी खानाबाट मुक्त भएको जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्