नेभिगेशन
समाज

झोलुङ्गे पुल बनेपछि किसान र बालबालिकालाई सजिलो

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१० मा निर्माण भएका दुई झोलुङ्गे पुलले यहाँका किसान र बालबालिकालाई सबैभन्दा बढी सहजता दिलाएको छ ।  गत आर्थिक वर्षमा वडाको भेरीखोला–माङने र मानपुर–हिल जोड्ने गरी निर्माण भएका दुई झोलुङ्गे पुलले यहाँको कृषि उत्पादन संकलन तथा ढुवानी र बालबालिकालाई विद्यालय आवतजावतमा सजिलो बनाएका छन् । 

भेरीखोलाबाट माङने जोड्ने पुल ३५६ मिटर र मानपुरबाट हिल जोड्ने पुल ३४८ मिटर लामो रहेको छ । वडा अध्यक्ष धनबहादुर खड्काले भेरीखोला माङने पुलले कामीबुढा टोलको भेरीखोला र छहरा गलम्पाटी टोलको ठारीखोली बस्तीलाई जोड्ने काम गरेको जानकारी दिनुभयो ।

पुल निर्माण पश्चात ठारीखोली बस्तीका स्थानीयलाई आउजाउमा सहज हुनका साथै यहाँको उत्पादन र ढुवानीका काममा सहयोग भएको । यो पुलले रोल्पा जिल्लासँग जोगिएका ठाउँमा आउजाउमा पनि सुविधा थपिएको छ । 

त्यसैगरी झुल्खेत गलमपाटी टिला सडकखण्डको मानपुर सडकबाट मुसिकोट नगरपालिका –९ को हिल जोड्ने पुलले त्रिवेणी गाउँपालिकाको वडा नम्वर २ बाँदरपानी, गैरीनेटा, चिनछहरे, वडा नम्वर १ को दहभागे, रोल्पाको परिवर्तन गाँउपालिकाका धेरै बस्तीहरुमा आउजाउमा सहजता भएको छ । 
जिल्ला सदरमुकामसँग जोडिएको शितलपोखरी हुँदै चुन जोडेको सडकखण्डमा यो पुल रहेको छ । यो पुलले हिलबाट वडा नम्वर ६ मा रहेको झुल्खेतमा रहेको विद्यालयमा पठनपाठनका लागि आउने बालबलिकाहरुलाई सहज बनाएको छ । बर्षायामको बेला पुल नहुँदा बालबालिका तथा सर्वसाधारणहरुलाई आउजाउमा समस्या हुने गरेको थियो । 

बाल कल्याण मावि झुल्खेतका शिक्षक षडानन्द शर्माले कक्षा ५ भन्दा माथिका बालबालिकाहरु हिल गाउँबाट झुल्खेत पठनपाठनका लागि आउने गरेको र पुलको कारण उनीहरुलाई असाध्यै सहज भएको बताउनुभयो । बिशेष गरेर बर्षाको समयमा खोला बढ्दा बालबालिकाहरुलाई विद्यालय पठाउन डर हुने गरेको थियो । 

दुबै पुल स्थानीय पुर्वाधार विकास कार्यक्रममार्फत हिमशिखर निर्माण सेवाले निर्माण गरेको हो । अघिल्लो वर्ष नै बन्नुपर्ने पुल सडक सुविधा नपुगेको भन्दै निर्माण कम्पनीले सामाग्री ढुवानीमा ढिलाई गरेको थियो । 

वडाको सबैभन्दा लामो भेरीखोला माङने पुलसम्म जानलाई मुख्य सडकदेखि गोरेटो बाटो समेत निर्माण गरिएको छ । वडा कार्यालयले तीन लाख लगानी गरेर ३४३ मिटर लामो गोरेटो बाटो निर्माण गरेको जनाएको छ । गोरेटो बाटो निर्माणपछि कामीबुढा पार्क चौर सडकखण्डबाट पुल हुँदै भेरीखोला गाउँ जाने सडक पुग्न स्थानीयलाई सहज भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्