नेभिगेशन
समाज

रुकुममा नागरिक समाज सशक्त नहुँदा जनताका मुद्धा ओझेलमा

रुकुम पश्चिममा नागरिक समाज सशक्त नहुँदा बर्षौदेखि नागरिकका मुद्धा ओझेलमा परेको बताईएको छ ।

बिहिबार गैर सरकारी संस्था महासंघले ‘नागरिक समाजका एजेण्डा र मुद्धाहरु’ बारेमा मुसिकोटमा आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरुले जिल्लामा नागरिक समाजको अभाव रहेको बताएका हुन् । 

गैर सरकारी संस्था महासंघ कर्णालीको आयोजना र रुकुम पश्चिमको समन्वयमा भएको उक्त कार्यक्रममा महासंघमन जिल्ला सचिव गोकर्ण खड्काले सुशासन र पारदर्शिताको खोजि गर्ने नागरिक अगुवाहरु भेटिनै मुश्किल परेको बताउनुभयो । उहाँले सरकारले गैसस र नागरिक समाजलाई हेर्ने दृष्टिकोण समेत अलग रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा अधिवक्ता गणेश हमालले सत्ताको आज्ञापालक नागरिक समाजबाट नागरिकका खास मुद्धा उठाउन नहुने बताउनुभयो । उहाँले नागरिकले सहज रुपमा आधारभूत सेवा सेत नपाएको, पूर्वाधार सम्बन्धीका मुद्धाहरु छरपस्ट रहेको उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगार, आर्थिक अवस्था, शासन व्यवस्था, सामाजिक न्याय, समावेशीता, वातावरण, प्राकृतिक स्रोत लगायतका सवालमा दर्जनौ मुद्धाहरु हुँदा पनि जोडदार रुपले उठाउने निकायको खोजीभईरहेको उहाँले उल्लेख गर्नुभयो । 

मुसिकोट नगरपालिका -१ स्थित त्रिभुवन जनता माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीले विगतमा नागरिक समाजको तर्फबाट आवाज उठाउँदा जागिर नै गएको जनाउनुभयो । अहिले आफूले सार्वजनिक संस्था सुधारको प्रयास हुँदा चौतर्फि घेराबन्दी भएको, नागरिक समाजका प्रतिनिधिहरु सत्ताको ओतमुनि रहेको उहाँको भनाई छ । 

पत्रकार प्रविर ददेलले जिल्लामा सधै नागरिक समाजको खोजी हुने गरेको बताउनुभयो । उहाँले महिला माथि अन्याय हुँदा महिला मात्रै बोल्नुपर्ने, दलित अन्यायमा पर्दा दलित मात्रै बोल्ने अवस्था रहेको जानकारी गराउनुभयो । 

यसैगरी नेपाल अपाङग संघका कार्यवहाक अध्यक्ष दिलसरा बोहराले अपाङगता भएका व्यक्तिहरुको अवस्था र पीडाहरु बारेमा बोलिदिने नागरिक अगुवाको अभाव रहेको उल्लेख गर्नुभयो । रुकुम उद्योग वाणिज्यका अध्यक्ष पलबहादुर खड्काले नागरिकका मुद्धाहरु कमजोर हुँदा जवाफदेहिता समेत कमजोर बनेको बताउनुभयो । जिल्लामा नागरिक समाजको उपस्थिति कमजोर रहेको उहाँँको बुझाइ रहेको छ । 

उक्त कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका अगुवाहरुले समेत नागरिक समाजको अपरिहार्यता रहेको जनाएका छन् । नेपाली काँग्रेसका उपसभापति हर्कसिं खत्री, नेकपा एमालेका अध्यक्ष नन्दराम देवकोटा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका लगायतले निमुखाहरुको आवाज मुखरित गर्ने निश्पक्ष नागरिक समाजको अभाव रहेको बताउनुभयो । उहाँहरुले राजनीतिक दलको दतर्फबाट नागरिकका अधिकारका सवाल उठाउने निकाय तथा व्यक्तिलाई साथ रहने समेत प्रतिबद्धता जनाउनुभयो । 

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले सत्यलाई सत्य र गलतलाई गलत छु्ट्याउन र भन्न सक्ने नागरिक समाजको आवश्यकता रहेको बताउनुभयो । उहाँले मुहान सफा नगरी पाईपको पानी सफा नहुँने बताउनुुहुँदै  कर्मचारीतन्त्र, राजनीतिक दल र नागरिक समाजमा समेत रहेका समस्याहरु सहकार्यमार्फत समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका कर्णाली प्रदेश अध्यक्ष घनश्याम केसीले नागरिक संस्थाहरु थप क्रियाशिल भएर जनता र सरकार बिच पुलको काम गर्नुपर्नेमा जोड दिनुभयो । 

गैरसरकारी संस्था महासंघ रुकुम पश्चिमका अध्यक्ष भिमराज ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गोकर्ण खड्काले गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज