नेभिगेशन
समाज

मावि कोटजहारीलाई ल्यापटपसहितका उपकरण हस्तान्तरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ७ स्थित माध्यमिक विद्यालय कोटजहारीलाई ल्यापटपसहितका उपकरण प्रदान गरिएको छ । 

शनिबार चौरजहारी नगरपालिका रुकुम र साझा शिक्षा ई- पाटी नेपालसँगको सहकार्यमा कम्प्युटर लगायतका उपकरण हस्तान्तरण तथा अभिमुखीकरण गरिएको छ । 

साझा शिक्षा ई-पाटी नेपालले प्लान इन्टरनेशनलको सहयोगमा कम्प्युटर उपकरण हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरहेको हो । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार डिजिटल सिकाइ ल्याब व्यवस्थापन तथा शिक्षक अभिमुखीकरण कार्यक्रम कार्यान्वयनका लागि डिजिटल सामग्री प्रदान गरिएको छ ।

चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईन्द्रलाल शर्मालाई डिजिटल शैक्षिक सामग्रीसहितका उपकरण हस्तान्तरण गर्नुभएको हो ।

२० वटा ल्यापटप, एक वटा अफलाइन ई-पुस्तकालय सर्भर, एक वटा राउटर, आठ वटा पावरस्ट्रिप र २० वटा हेडफोनसहितका सामग्री हस्तान्तरण गर्नुभएको छ । 

सामग्री हस्तन्तरण कार्यक्रममा नगर प्रमुख पुष्प बादी, उपप्रमुख ईश्वरी शर्मा बिएम, ७ नम्बर वडा अध्यक्ष भीमप्रसाद जैसी, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी र शिक्षकहरुको उपस्थिति रहेको थियो । नगरपालिकाले प्राप्त सामग्रीको सही सदुपयोग गरी विद्यालयले शिक्षण सिकाइमा नयाँपन ल्याउने विश्वास गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्