नेभिगेशन
समाज

मुसिकोटमा ६ हजार बालबालिकाको मुटु जाँच, ३६ जनामा समस्या 

पाँच जनाको तत्काल अप्रेशन गर्नुपर्ने

रुकुम पश्चिमको मुसिकोटमा ६ हजार बढी बालबालिकाको मुटु जाँच गरिएको छ । 

नेपाल हृदय रोग प्रतिष्ठान जिल्ला शाखा रुकुमको आयोजनामा भएको एक दिने शिविरमा विद्यालयस्तरका ६ हजार एक सय बालबालिकाको मुटुको निःशुल्क जाँच गरिएको हो । 

मुसिकोट नगरपालिकाको समन्वय र नेपाल हृदय रोग प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौको सहयोगमा मङगलबार दुई स्थानमा केन्द्र राखेर शिविर सञ्चालन गरिएको थियो । प्रतिष्ठानका जिल्ला शाखा अध्यक्ष नरबहादुर लम्सालका अनुसार वडा नम्वर १ स्थित त्रिभुवन जनता मावि र वडा नम्वर २ स्थित महाकाली माविमा केन्द्र पारेर बालबालिकको मुटु जाँच गरिएको हो । 

अध्यक्ष लम्सालले मुटु जाँच गरिएका मध्य ३६ जना बालबालिकामा मुुटु रोगको समस्या पहिचान भएको जानकारी दिनुभयो । त्यसमध्य पाँच जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने समेत देखिएको छ । 

अध्यक्ष लम्सालले पाँच जनाको निःशुल्क शल्यक्रियाको व्यवस्था प्रतिष्ठानले मिलाउने बताउनुभयो । विद्यालयस्तरका बालबालिकाहरुको निःशुल्क मुटु जाँच गर्ने र समस्या देखिएमा समयमै समाधान गर्ने उद्धेश्यका साथ शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । 

बरिष्ठ मुटु रोग बिशेषज्ञ प्रकाश राज रेग्मी नेतृत्वको टोलीले बालबालिकाको मुटुको जाँच गरेको हो । शिविरमा नेपाल हृदय रोग प्रतिष्ठानका केन्द्रिय अध्यक्ष प्रेम सुवालसहित आठ जना बरिष्ठ मुटु रोग बिशेषज्ञहरुले बालबालिकाहरुको मुटुको जाँच गर्नुभएको थियो । यस अवसरमा बालबालिकाहरुको मुटुको सुरक्षा तथा खानपानको सम्बन्धमा आवश्यक परामर्श समेत दिईएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्