नेभिगेशन
समाज

सहरेमा कक्कर सल्काउने बेला टहरा जल्यो, पशुचौपाया र अन्नपात खरानी 

काफल बेचेर साँचेको रुपियाँमा पनि आगो सल्कियो

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –७ सहरे गाउँको एक टहरामा आगलागी भएको छ । 

सोमबार बिहान स्थानीय फौदे बुढाथोकीको टहरामा आगलागी हुँदा पशुचौपाया, अन्नपात, भाँडावर्तन, लत्ताकपडा र नगद समेत जलेर नष्ट भएका छन् । 
सानीभेरी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कुलबहादुर बुढाका अनुसार आगलागीबाट टहरासहित दुई लाख बढीको क्षति भएको छ । उहाँका अनुसार आगलागीमा परेर टहरासहित दुई वटा बाख्रा, दुई बोका, एक भेडा, तीन कुखुरा र एक कुकुर जलेर नष्ट भएका छन् । यसका साथै टहरामा रहेका सम्पुर्ण मकै, गहुँ, चामल लगायतका अन्नपात, लत्ताकपडा, भाँडाकुडा खरानी भएको वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो । 

आगलागी हुँदा सात हजार पाँच सय नगद समेत जलेको छ । फौदे बुढाथोकीको कपडामा रहेको दुई हजार र उहाँको श्रीमतीले काफल बेचेर साँचेको पाँच हजार रुपियाँ टहरासँगै जलेको वडा अध्यक्ष बुढाले उल्लेख गर्नुभयो । 

आगलागीमा परेर एक भैसी र एक गोरु घाईते भएका छन् । छिमेकीहरुले गोरु र भैसीको उद्धार गरेर जोगाएको तर गम्भिर घाईते अवस्थामा रहेको बताईएको छ । 

तमाखु (कक्कर) सल्काउने बेला टहरा नजिक रहेको खरको भागमा आगो सल्लेको र टहरामा सल्केर आगलागी हुन गएको वडा अध्यक्ष बुढाले बताउनुभयो । 

आगलागीबाट मानविय क्षति भने भएको छैन । स्थानीयले आगो नियन्त्रणमा ल्याएका छन् । उक्त टहरा (अस्थायी आवास) भूकम्प पनि सरकारले दिएको अनुदानको रकमले निर्माण गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्