नेभिगेशन
समाज

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालयको भवन पुनर्निर्माण सुरु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर १ मा रहेको जनप्रिय आधारभूत विद्यालयको भवन निर्माण सुरु भएको छ । भूकम्पले क्षतिग्रष्त उक्त विद्यालयको भवन सिद्धार्थ बैंक लिमिटेडले पुनर्निर्माण सुरु गरेको हो । 

बुधबार गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास गर्नुभएको हो । २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्य एक भवनको पुनर्निर्माण कार्यको लागि सिद्धार्थ बैंकले सहयोग गरेको सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्टले जानकारी दिनुभयो । चार कोठाको दुई तले भवन निर्माण सुरु भएको हो । 

शाखा प्रवन्धक बिष्टले बैंकले सधैँ बालबालिकाको उचित र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको बताउनुभयो । आजका बालबालिका नै भोलिको समृद्ध राष्ट्र निर्माणका आधार भएकोले उनीहरूलाई सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।

बैंकले उनीहरुको भविष्य निर्माण तर्फको पहिलो र महत्वपूर्ण पाइला विद्यालय भएकोले प्रारम्भिक शिक्षा मात्र नभई, उच्च शिक्षामा समेत दीर्घकालीन प्रभाव पर्ने सहयोग गर्दै आइरहेको जनाएको छ । दक्ष, जिम्मेवार र योग्य नागरिक उत्पादनका लागि उच्च शिक्षामा केन्द्रित प्रयास अत्यावश्यक भएकाले बैंक यस क्षेत्रलाई विशेष प्राथमिकता दिएको जनाएको छ ।  

दिगो विकास लक्ष्यलाई सधैँ प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको उल्लेख गरेको छ । आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुलाई निरन्तरता दिने योजना रहेको शाखा प्रवन्धक विष्टले बताउनुभयो । 

बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन हुने जनप्रिय आधारभूत विद्यालयमा १७५ जना विद्यार्र्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । 

भवन शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नम्वर १ का वडा अध्यक्ष टेक बहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघको अध्यक्ष तुलाराम खड्का, विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्ट लगायत अन्य शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । 

41be4a2b-dfdf-4c9d-b402-4d7fc299520b-1746015927.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज