नेभिगेशन
समाज

कार्यसम्पादनमा सानीभेरी गाउँपालिका जिल्लामै उत्कृष्ट, प्रदेशमा दोश्रो

रुकुम पश्चिम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका जिल्लामै उत्कृष्ट ठहरिएको छ । १७ वटा सूचकका आधारमा स्थानीय तहहरुको कार्य सम्पादन मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै सानीभेरी जिल्लामै उत्कृष्ट र कर्णाली प्रदेशमा दोश्रो भएको हो ।

वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार ६ स्थानीय तहमध्ये सानीभेरी गाउँपालिकाले ७२.७ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थान प्राप्त गरेको छ । त्रिवेणी गाउँपालिकाले ६६.३ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने चौरजहारी नगरपालिका ६५.६ अंक प्राप्त गरेको छ । 

बाँफिकोट गाउँपालिकाले ६४.९ प्रतिशत अङ्क प्राप्त गरेको छ भने आठबिसकोट नगरपालिकाले ६४.६ प्रतिशत अङ्क पाएको छ । जिल्लामा सबैभन्दा कम मुसिकोट नगरपालिकाले ५७.६ अङ्क प्राप्त गरेको छ । 

आर्थिक वर्षको राजस्व र आय व्ययको अनुमान, समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्च लगाएतका १७ वटा सूचाङ्कमा यो मूल्याङ्न हुने गर्दछ । यसमा सुशासन, समन्वय, पूर्वाधार, न्यायीक कुराहरु पनि सुचकमा राखिएका हुन्छन् । 

सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले नेपालको संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (ख) बमोजिम संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानिकरण अनुदान, आर्थिक वर्ष ०८२/०८३ मा प्राप्त गर्न प्रदेश तथा स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा सानीभेरी जिल्लामै प्रथम भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेशका ७९ वटा पालिका मध्य कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका ७७ अंकका साथ प्रथम, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ७२.२ अंकका साथ दोश्रो र हुम्लाकै खार्पुनाथ गाउँपालिका ७१.१ अंकका साथ तेस्रो भएको छ । 

यो मूल्याङ्कनमा जिल्लामा उत्कृष्ट भए बापत आयोगबाट थप रकम अनुदान पाइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

पहिरोले गाउँ जाने सडक अवरुद्ध